Banijya News

सरकारले कोरोना रोकथामका नाममा खर्च गरेको १० अर्वको एक एक हिसाव चाहियोः गगन थापा

1
1.1K Shares

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकारले कोरोना रोकथामका खर्च गरेको १० अर्वको हिसाव मागेका छन् । आजको संसद बैठकमा प्रतिपक्षी दलले विरोध जनाएपछि सभामुखले थापालाई विरोध जनाउनको कारण बताउन समय दिएका थिए । त्यही क्रममा थापाले सरकार महामारीको समयमा भ्रष्टचारमा लिप्त भएको आरोप लगाएका छन् । उनले सदनमा भने ‘१० अरब खर्च कहाँ भयो हामीलाई यसको उत्तर चाहिन्छ । पाँचवटा पिसिआर मेसिन किन्ने, २५ हजार किट किनेर १० अर्ब रुपैयाँको हिसाब किताब देखाउनु पर्दैन ?’


उनले नेपालमा कोरोनाका कारण १४ जनाको मात्रै ज्यान गएको हो ? भन्दै सरकारलाई प्रश्न पनि गरे । ‘नेपाल भन्दा बाहिर १२७ जना नेपालीको कोभिड १९ का कारण मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालय भन्छ नेपाल भित्र १४ जनाको मृत्यु भएको छ । ३७६२ जना संक्रमित भएका छन् । तर, के मृत्यु हुनेको संख्या १४ मात्रै हो ?’


उनले अगाडि थपे, ‘त्यसो भए भोकबाट मारिएका सूर्यबहादुर तामाङ वा झुण्डिएर मरेका चन्द्रबहादुर परियार, औषधि खान नपाएर मरेकी कंकादेवी बोहोरा वा सुत्केरी भएर अस्पताल लान नपाएर मरेकी लालकुमारी रोकायको मृत्युको जिम्मा कसले लिन्छ ? क्वारेन्टाइनमा मृत्यु भएकी सुनिता लोहारको मृत्युको जिम्म कल्ले लिन्छ? झुण्डिएर मर्न बाध्य भएका लीलाबल्लभ वा आत्मदाह गर्न बाध्य भएका सिद्धार्थ आउजीको जिम्मा कसले लिन्छ ?’


कर्मचारीलाई सरुवा गरेर दोषबाट उम्कन नपाइने बताउँदै थापाले प्रश्न गरे, ‘मृत्यु भइसकेका व्यक्तिको स्वाब परीक्षण नगर्ने भनेर कसले भन्यो ?’

उनले विदशेमा रहेका नेपालीलाई तत्काल स्वदेश ल्याउन पनि सरकारको ध्यानाकर्षण गरे । विदेशमा बसेका नेपालीलाई ल्याइने निर्णय भएको तर कुन विमानबाट ल्याउने भन्ने विवाद भएको जिकिर गर्दै उनले त्यस विषयमा सरकारले सदनलाई जवाफ नदिए आगामी बैठक सञ्चालनमा सहज नहुने चेतावनी दिए ।


उनले कांग्रेसले बैठक बसेर यो सरकारले कोरोना रोकथाम गर्न नसक्ने निश्कर्ष निकालेको पनि जानकारी गराए । प्रधानमन्त्रीको अक्षमताले नै अहिले देशले कोरोनाको महामारी बेहोर्नु परेको आरोप उनको थियो ।

1

Scroll to Top