पाल्पामा एकैदिन थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै यहाँ संक्रमितको संख्या ४० पुगेको छ । जिल्लाको रम्भा गाउँपालिका १ हुँगीस्थित जनकल्याण माध्यमिक विद्यालयको क्वारेण्टाइनमा बसेका १६ जना र बगनासकाली गाउँपालिका ५ स्थायी ठेगाना भई जिल्ला अस्पताल पाल्पाको आइसोलेसनमा उपचार गराइरहेका एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
संक्रमितमध्ये एक १३ वर्षकी बालिका र १६ पुरूष छन् । उनीहरू १३ देखि ५० वर्ष उमेर समूहका छन् । प्रदेश ५ को जनस्वास्थ्य प्रयोगशाला भैरहवाले आइतबार बेलुकी यसको पुष्टि गरेको हो ।
रम्भाका कोरोना संक्रमितलाई सोमबार बिहान सोही पालिकाको ५ ताहुँस्थित रम्भा माध्यमिक विद्यालयको आइसोलेसनमा लैजाने तयारी भइरहेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । यता बगनासकालीका पुरूषलाई भने मिसन अस्पतालको नर्सिङ कलेजमा स्थापना गरिएको आइसोलेसन लगिएको छ ।


