भारतीय धनाढ्य ६३ वर्षीय मुकेश अम्बानी विश्वका १० ठूला अर्बपतिको क्लबमा प्रवेश गरेका छन् । ब्लुमबर्गको विश्व अर्बपति सूचीमा अम्बानी नवौँ नम्बरमा परेका छन् । उनको सम्पत्ति ४ अर्ब १८ करोड अमेरिकी डलरले बढेर कुल ६४ अर्ब ५० करोड अमेरिकी डलर पुगेको छ । ‘टप १०’ धनीमा पर्ने उनी एसियाका एक्ला धनाढ्य समेत भएका छन् ।
नवौँ नम्बरमा परेका भारतीय धनाढ्यको रिलायन्स कम्पनीको ४२ प्रतिशत स्वामित्व रहेको छ । अम्बानीले आफ्नो डिजिटल युनिट जियो प्लेटफर्म्स लिमिटेडमा लगानी भित्र्याएपछि प्रगति उल्लेख्य बढेको देखिन्छ । कोरोनाभाइरसको महामारीले अन्य अर्बपतिलाई हानि गरे पनि अम्बानीले भने नाफा कमाएका छन् । महामारीपछि अम्बानीको टेलिकम कम्पनी जियोले प्रगति गरेको छ । जसले उनको व्यक्तिगत सम्पत्तिमा योगदान पुगेको हो ।
अम्बानीले विगत दुई महिनायता तेलको कारण अप्ठ्यारोमा परेको रिलायन्सलाई जियोले १५ अर्ब डलरभन्दा धेरै लगानी भित्र्याएका छन् । त्यस्तै अम्बानीले फेसबुक, जनरल एटलान्टिक, सिल्भर लेक पार्टनर, केकेआर एण्ड कम्पनी, साउदी कम्पनीहरुले जियोको सेयर किनेका छन् ।
विश्वको धनाढ्यको पहिलो नम्बरमा अमेजनका जेफ बेजोस परेका छन् । उनीसित १ सय ६० अर्ब डलर रहेको छ ।
यस्तो छ विश्वका १० धनाढ्य र तिनको सम्पत्ति
- पहिलोमा जेफ बेजोस, १ सय ६० अर्ब डलर
- दोस्रोमा बिल गेट्स, १ सय १२ अर्ब अमेरिकी डलर
- तेस्रोमा मार्क जुकरबर्ग, ९० अर्ब ६० करोड अमेरिकी डलर
- चौथोमा बर्नार्ड आर्नल्ट, ८७ अर्ब अमेरिकी डलर
- पाँचौँमा वारेन बफेट, ७१ अर्ब अमेरिकी डलर
- छैठौँमा स्टिभ बाल्मर, ७० अर्ब अमेरिकी डलर
- सातौँमा ल्यारी पेज, ६८ अर्ब अमेरिकी डलर
- आठौँमा सर्जे ब्रिन, ६६ अर्ब अमेरिकी डलर
- नबैंमा मुकेश अम्बानी, ६४ अर्ब ५० करोड अमेरिकी डलर
- दशौँमा फ्रान्कोइस बेटेनकोर्ट मेयर्स, ६२ अर्ब डलर
एजेन्सीको सहयोगमा


