बुटवल भैरहवा सडक खण्ड अन्र्तगतको बुटवल–रूपन्देहीमा साढे ३ महिनापछि सार्वजनिक यातायात सञ्चालनमा आएको छ । चैत्र ११ गते लकडाउन हुनुअघि ८ गतेदेखि सार्वजनिक यातायात बन्द भएका थिए । लुम्बिनी मेट्रोसिटी प्रालिले आफ्ना वातावरण अनुकुलित (एसी) बस बुटवल–भैरहवा रूटमा सञ्चालनमा ल्याएको प्रालिका अध्यक्ष धनबहादुर अधिकारी जानकारी दिए ।
गृह मन्त्रालयले छोटो दुरीका यातायात सञ्चालन गर्न अनुमति दिएपछि प्रालिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समन्वय गरी सञ्चालनमा ल्याएको हो ।
समिति मातहतमा ८ वटा एसी बस छन् । ती गाडी एक÷एक घण्टामा छुटनेछन् । बुटवल–बर्दघाट रुटमा पनि गाडी सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । अब यात्रुले बुटवल भैरहवाको भाडा ९० रुपैयाँ तिर्नुपर्नेछ । सामान्य अवस्थामा यो रुटमा भाडादर ६० रुपैयाँ थियो ।
नेपालकै ठूलोमध्येको एक पश्चिम नेपाल बस व्यवसायी प्रालिले तत्काल आफूहरुले गाडी सञ्चालनमा ल्याउन नसक्ने बताएको छ । प्रालिका अध्यक्ष दधिराम खरेलले गाडी मर्मत गर्नुपर्ने भएकोले तत्कालका लागि गुडाउन सम्भव नभएको बताएका छन् । २ हजार ४ सय गाडी यो व्यवसायमा आवद्ध छन् । यो समुहले यातायता नचलाउँनुलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ । पश्चिम नेपाल, सिद्धार्थ लगायत अन्य कम्पनीका गाडीहरु भने अझै सञ्चालनमा आएका छैनन् ।


