असार ३०, काठमाडौं ।
कोरोनाको माहामारीका कारण पर्यटन क्षेत्र सुनसुन भएपनि होटेलमा कार्यरत मजदुरहरुले वैशाख १ गतेदेखि आगामी पुस १६ गतेसम्मको न्युनतम तलब पाउने भएका छन् ।
होटल संघ नेपाल (हान) र अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेस्टुराँ मजदुर युनियन र नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघबीच न्युनतम तलब दिने सहमति भएको हो । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनका कारण कारण धराशायी भएको होटेल क्षेत्र गत वैशाखमा व्यवसायीहरूले बन्द गर्ने घोषणा गरेका थिए । होटेल बन्द गरेसँग व्यवसायीले प्रत्येक महिना आधारभूत तलबको १२.५ प्रतिशतको दरले मात्र तलब दिने निर्णय गरेका थिए । तर, मजदुर संगठनले अस्वीकार गरेसँगै विवाद बढ्दै आएको थियो ।
सहमति अनुसार होटेलमा कार्यरत मजदुरहरुले वैशाखदेखि पुस दोस्रो सातासम्म ४ हजार ३ सयदेखि १० हजार रुपैयाँसम्म मासिक तलब पाउने भएका छन् । पाँचतारे डिलक्स होटलका मजदुरलाई मासिक १० हजार र पाँच तारे होटलका मजदुरलाई ९ हजार मासिक पारिश्रमिक दिने सहमति भएको छ । यस्तै, चारतारे डिलक्स होटलका मजदुरलाई मासिक ८ हजार ४ सय ५५ र चारतारे होटलका मजदुरलाई मासिक ८ हजार दिइने भएको छ । यस्तै, तीनतारे होटलका मजदुरलाई मासिक ५ हजार र दुईतारे होटलका मजदुरलाई मासिक ४ हजार ३ सय दिने सहमति भएको सहमति भएको हो ।
त्यस्तै एकतारे र पर्यटक स्तरका मजदुरको हकमा भने होटल व्यवस्थापन र मजदुरले आपसी सहमतिमा पारिश्रमिक निर्धारण गर्ने भनिएको छ । यदि सहमति हुन नसकेमा मात्र संघबाट सहमति खोजिने निर्णय भएको छ । कोभिड–१९ का कारण होटेल क्षेत्रमा काम गर्ने ७ लाखभन्दा बढी बेरोजगार भएको अनुमान गरिएको छ ।


