असार १, काठमाडौं ।
एनआईसी एशिया बैंकले पहिलोपटक घरबाट नै आफुले चाहेको एन आई सी एशिया बैंकको खातामा नगद जम्मा गर्ने भौचर अनलाईनबाट नै भर्न सकिने प्रणाली सुरु गरेको छ ।
ग्राहकले आफ्नो मोबाइल वा कम्प्युटरमार्फत www.iserve.nicasiabank.com लिंकमा गई नगद रकम जम्मा गर्न डिजिटल माध्यमबाट भौचर भर्न सकिने सुबिधा ल्याएको हो ।
बैकले जानकारी दिएको छ । उक्त लिंकभित्र पुगेपश्चात् सेवाग्राहीहरुले भौतिक फारमकै ढाँचाको डिजिटल भौचर राखिनेछ । उक्त भौचरमा आफूलाई पायक पर्ने शाखा छनौट गरी आवश्यक विवरणहरु भरिसकेपछि बैंकबाट सेवाग्राहीलाई एसएमएसमार्फत डिपोजिट कोड पठाइने र तत्पश्चात् उक्त डिपोजिट कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई बिना कुनै नगद भौचर सोझै नगद काउण्टरमार्फत आफूले नगद जम्मा गर्न चाहेको खातामा नगद जम्मा गर्न सकिने बैंकले जनाएको छ ।
यसरी नगद जम्मा गर्दा सेवाग्राहीले काउण्टरमा बसेको बैंकको कर्मचारीलाई आफ्नो डिपोजिट कोड भनेपछि नगद बुझ्ने र यसपछि बैंकका कर्मचारीद्वारा नगद रकम जम्मा भएको भौचर सम्बन्धित सेवाग्राहीलाई प्रदान गरिनेछ । बैंकले ल्याएको अनलाईनबाटै भौचर भर्न सकिने सुविधाले लाइन नबसी सेवा लिनको निमित्त सहयोग हुनेछ भने वहाहरुलाई काउण्टरमा पुगेर लामो समय लाइनमा बस्नुपर्ने परम्पराको अन्त्य हुने बैंकले विश्वास लिएको छ ।
नगद जम्मा गर्ने सेवाको अलावा बैंकले मोबाइल बैंकिङ सेवा नवीकरण, अनब्लक, ब्लक, तथा पिन रिसेट गर्ने एवं मौदात विवरण, चेक अनुरोध, ई–कमर्स दर्ता, ब्यालेन्स सर्टिफिकेट अनुरोध, एबीबीएस सुविधा र स्टेटमेन्ट अनुरोध गर्नका लागि समेत आईसर्भमार्फत सेवा दिइरहेको छ । उक्त सेवाहरू आईसर्भमार्फत लिँदा शतप्रतिशतसम्म शुल्क छुटको व्यवस्था गरिएको छ । बैंकले मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६४ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।


