कोरोनाभाइरसको संक्रमणका कारण नेपालीको श्रम गन्तव्य मुलुकका अर्थतन्त्र र व्यवसायमा गहिरो धक्का पुगेपछि वैदेशिक रोजगारीमा गएका नेपालीको आम्दानी ठूलो परिमाणमा घटेको छ । श्रम गन्तव्य मुलुकहरुमा नेपाली कामदारहरुले रोजगारी गुमाइरहेको समाचार आइरहँदा रेमिटेन्समा पनि गिरावट आएको देखिएको हो । बन्दाबन्दीका तीन महीनामा झण्डै ३४ अर्ब ३८ करोड रेमिटेन्स घटेको छ ।
नेपाल राष्ट्र ब्यांकको नयाँ तथ्यांक अनुसार, गत चैत–जेठका तीन महीनामा अघिल्लो वर्षको सोही अवधिका तुलनामा योे परिमाणमा रेमिटेन्स आय घटेको हो ।
आर्थिक वर्ष २०७६÷७७ को चैत–जेठका तीन महीनामा करीब १ खर्ब ८२ अर्ब ४४ करोड मात्रै रेमिटेन्स देश भित्रिएको छ । आर्थिक वर्ष २०७५÷७६ को चैत–जेठका तीन महीनामा २ खर्ब १६ अर्ब रेमिटेन्स भित्रिएको थियो ।
यसको अर्थ, सामान्य अवस्था भएको अघिल्लो वर्षको सोही अवधिको तुलनामा कोरोनाभाइरसको संक्रमण विस्तार भएपछि हरेक महीना औसतमा रु. ११ अर्ब ४६ करोड कम रेमिटेन्स भित्रिइरहेको छ । गत आर्थिक वर्ष २०७६र७७ को ११ महीना अर्थात जेठसम्ममा देशमा कुल रु. ७ खर्ब ७४ अर्ब ८७ करोड रेमिटेन्स भित्रिएको छ ।
राष्ट्र ब्यांकका अनुसार, नेपालीले पाउने पेन्सनको रकम पनि घटेको छ । जेठसम्ममा करीब ५३ अर्ब ८३ करोड मात्रै पेन्सन देश भित्रिएको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा ७.१ प्रतिशत कमी हो ।


