श्रावण ६, काठमाडौं ।
अविरल वर्षासँगै उर्लिएको बाढीले सप्तकोसी नदीमा पानीको बहाव बढे पछि ५० वटा ढोका खुल्ला गरिएको छ । पानीको वहाव खतराभन्दा माथि पुगेसँगै ५६ मध्ये ५० वटा ढोका खोलिएको काेसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
मंगलबार बिहान गरिएको मापनअनुसार सप्तकोसीको ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ४२ हजार ९९० क्युसेक पुगेको छ । सप्तकोसीमा २ लाख क्युसेक प्रतिसेकेन्डभन्दा पानीको वहाबको स्तर माथि पुगे खतरा मानिन्छ । खतरा बढेसंगै पानीको बहाव पनी क्षमता भन्दा दोब्बरले वृद्धि भएकोले त्यहा रातो बत्ती बालिएको छ । ब्यारेजका दुईवटै नहर बन्द गरिएको छ । पानीको बहाव थेग्न नसकेर नहर भत्किन सक्ने भएकाले नहर बन्द गरिएको हो ।
सप्तरी र सुनसरीका सप्तकोसी प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयहरुले आग्रह गरेका छन् । अहिले पनि उक्त क्षेत्रमा वर्षा भइरहेको छ भने सप्तकोसीका सहायक नदीहरुमा बाढी झनै बढेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सप्तकोशीमा बहाव बढ्दो क्रममा रहेको जनाएको छ ।


