सरकारले आज मध्यरातिबाट लकडाउनको अन्त्य गर्ने घोषणा गरेको छ । सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मन्त्रीपरिषदको निर्णय सुनाउँदै मध्यरातिबाट लकडाउन अन्त्य भएको बताएका छन् । यो निर्णयसँगै चैंत ११ गतेबाट जारी लकडाउन १२० दिन पछि मंगलवार राति देखि अन्त्य भएको हो ।
आमनागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुला गर्ने निर्णय भएको उनले बताए । लकडाउन खुलेपनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने उनले बताए । लकडाउन खोलेपनि संक्रमणको मूल्याङकन गरेर निषेधित क्षेत्र घोषणा गरिने भएको छ ।
सरकारले आज रातिबाट लकडाउन खुला गर्ने निर्णय गरेपनि सिनेमा हल, शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, सैलुन व्युटि पार्लर, स्वीमिङ पुल टिउसन सेन्टर, डान्सबार, लगायतका क्षेत्र अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहने छन् ।
सरकारले साउन १५ गतेबाट होटल, रेष्टुरेण्ट, ट्राभल र टेकिङ एजेन्सी र पर्वतारोहणसम्बन्धी कार्यालयहरु खुला गर्ने निर्णय गरेको छ । लकडाउन खुलेपनि अन्तर्राष्ट्रिय सीमा नाकाभने साउन ३२ गतेसम्म बन्द नै हुनेछ । नेपाल प्रवेश गर्नुपर्ने भएमा सरकारले तोकेका नाकाबाट मात्र प्रबेश गर्न पाइने छ । भदौ १ गतेबाट लामो दुरीका सवारी साधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि सञ्चालन गर्ने निर्णय गरेको हो ।


