७ साउन, काठमाडौं ।
लकडाउनका कारण रोकिएको ललितपुरको रातो मच्छिन्द्रनाथको रथयात्रा हुने निश्चित भएको छ । रातो मत्स्येन्द्रनाथको रथारोहणको मुहूर्त साउन १० गते शनिबारका लागि जुरेको बताइएको छ । सरकारले लकडाउन अन्त्य गरेसँगै सुरक्षा सतर्कता अपनाउँदै साउन १० गते रथारोहण गरिने भएको हो।
शनिबार दिउँसोको १२ः१० देखि १२ः२५ सम्म रथारोहण गर्ने र सोही दिन रथयात्रा सुरु गर्ने जनाइएको छ ।
तिथिको आधारमा बनाइने रथ गएको चैत २७ गते साइत पूजा सुरु गर्नुपर्नेमा चैत ११ गतेदेखि लकडाउन भएकाले प्रतीकात्मक रुपमा रथ निर्माण सुरु भयो भनेर जनाउनको लागि साइत पूजा मात्र गरिएको थियो । मुहूर्त कुरेर अहिलेसम्म रथारोहण भने गरिएको थिएन ।
रथारोहण गरिसकेपछि कृष्ण मन्दिर राजोपाध्यायहरूलाई गोदान गर्ने गरिन्छ । त्यसपछि साँझ ४ बजे तिर गुर्जु पल्टनका सैनिकहरूले बन्दुक पड्काएपछि औपचारिक रूपमा रथयात्रा सुरु गर्ने चलन छ ।
मत्स्येन्द्रनाथको जात्राका बेला भोटो प्रदर्शन गरिने परम्परा छ । सरकारले भोटो जात्राका दिनमा सार्वजनिक बिदासमेत दिँदै आएको छ । कथनअनुसार नागराजा कर्कोटककी श्रीमतीलाई आँखाको रोग लागेपछि उपचारका लागि नागले एक किसानलाई बोलाए । नागले जसरी भए पनि आफ्नी श्रीमतीको रोग निको पार्नै पर्ने नपारे अनिष्ट हुने बताएपछि वैद्य सङ्कटमा परे ।
किसानले नागकी श्रीमतीको रोग नै पत्ता लगाउन नसकेपछि हात माड्दै बसिरहे । हात माडेका हुनाले यसबाट मयल निस्कियो । उनले त्यही मयललाई औषधि भनेर नागलाई दिए । त्यो औषधिको प्रयोगपछि नागकी श्रीमतीको रोग निको भयो ।
रोग निको पारिदिएपछि नागराजाले खुशी हुँदै आफूले लगाइराखेको रत्नजडित भोटो किसानलाई दिए । किसानले सधैँ नै त्यो भोटो लगाएर हिँड्थे । एक दिन किसानले खेतमा भोटो फुकालेर काम गर्दा एउटा भूतले भोटो चोरेर लगेछ । केही समयपछि भएको एक जात्रामा भूत र किसान पनि आएका रहेछन् ।
जात्रामा भूतले त्योे भोटो लगाएर आएको थियो । भोटो देखेपछि किसान र भूतबीच भोटोको स्वामित्वबारे भएको विवादले झगडाको रुप लियो । केही गरी पनि झगडा साम्य नभएपछि निर्णयका लागि उनीहरु मत्स्येन्द्रनाथकहाँ पुगे ।
मत्स्येन्द्रनाथले जसले प्रमाण ल्याउनसक्छ उसैलाई दिने भत्रे निर्णय गरे । तर दुवैले प्रमाण जुटाउन नसकेपछि भोटो मत्स्येन्द्रनाथले नै राखे । त्यसैबेला देखि प्रत्येक वर्ष यो कसको भोटो हो रु प्रमाण सहित उपस्थित होउन भन्ने उद्देश्यले चारैतर्फ भोटो देखाउने चलन चल्दै आएको हो ।


