श्रावण ८, काठमाडौं ।
बागमती प्रदेशका विभिन्न जिल्लामा निर्माण गरिएको ३२ वटा पक्की पुल एकैपटक उद्घाटन गरिएको छ । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले निर्माण गरेका उक्त पुलको उद्धघाटन मुख्यमन्त्री डोरमणि पौडेलले गरेका छन् ।
बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरको कैलाश गाउँपालिकास्थित दुवोखोला पक्की पुलसँगै एकसाथ ३२ वटा पक्की पुलको उद्घाटन गरेका हुन् ।
उक्त अवसरमा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारका कामहरु विस्तारै देखिने चरणमा रहेको बताए । साथै समय र खर्च कटौती गर्न निर्माण सम्पन्न भएका सबै पुलको एकैसाथ उद्घाटन गरिएको उनको भनाई रहेको छ ।
पूर्वाधार विकास कार्यालय ललितपुरले ६ वटा पुल दुई वर्षको अवधिमा ७३ करोड ७६ लाख ४३ हजार रुपैयाँ लागतमा निर्माण गरिएको हो । त्यस्तै काभ्रेले ६ वटा, चितवनले ५ वटा, नुवाकोटले ४ वटा, सिन्धुपाल्चोकले ९ वटा र रामेछापले २ वटा पुल निर्माण गरेको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ । ३२ वटा पक्की पुलको लम्बाइ ९ सय ९२ दशमलव ९० मिटर रहेको छ । चालू आर्थिक वर्ष २०७७ र ७८ मा १ सय २० वटा पुल निर्माण हुने भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँलले बताए ।


