नेपाल उद्योग बाणिज्य महासंघको नेतृत्व चयनका लागि गर्ने भनिएको निर्वाचन तेस्रोपल्ट सरेको छ । साउन २६ र २७ गतेलाई तोकिएको बार्षिक साधारणसभा अर्को ब्यावस्था नभएसम्मको लागि भन्दै सारिएको हो । विहीवार बसेको महासंघको पदाधिकारी भेलाले सरकारले साधारणसभा गर्न अनुमति दिएको १५ दिनभित्रमा निर्वाचन गर्ने निर्णय गरेको छ । लकडाउन अन्त्य भएपनि स्थानीय प्रशासनले साधारण सभा गर्न नदिएका कारण चुनाव सार्नुको विकल्प नरहेको महासंघका एक सदस्यले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघकि अध्यक्ष भवानी राणाले सरकारले सभासम्मलेन गर्न रोक लगाएका कारण तोकिएको मितिमा निर्वाचन गर्न नसक्ने स्पष्ट पारेकी छन् । ‘यो महासंघको निर्वाचन मात्रै होइन, साधारणसभा पनि भएकाले मानिसहरुको भीड हुन्छ, यस्तो अवस्थामा सरकारको निर्णय विपरीत निर्वाचन गर्न सकिएन,’ उनले भनिन ।
उनले थपिन – ‘महासंघको निर्वाचनमा कम्तीमा २ हजार जना मानिसहरु भेला हुनुपर्छ तर सरकारले त्यसका लागि रोक लगाएकाले यसअघि तोकिएको साउन २६ र २७ गतेको निर्वाचन गर्न सकिएन । ’
बैठकमा निवर्तमान अध्यक्ष पशुपति मुरारका, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, महासंघका पूर्व अध्यक्षहरू प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, महेशलाल प्रधान, विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, सुरज वैद्य, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू किशोरकुमार प्रधान, उमेशलाल श्रेष्ठ, चन्द्र प्रसाद ढकालको सहभागिता थियो ।
यस्तो छ निर्णयः
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको अध्यक्षतामा आज महासंघ सचिवालयमा महासंघको पदाधिकारी समिति बैठक बस्यो । महासंघका पूर्व अध्यक्षहरू एवं पदाधिकारीहरू सम्मिलित बैठकमा २०७७ साउन २६ र २७ गते काठमाडौंमा आयोजना गर्ने भनि तय गरिएको महासंघको ५४ औं वार्षिक साधारण सभाका विषयमा गम्भिर छलफल भई देहायको निर्णय गरिएको छ ।
निर्णयः
कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी साउन ५ गते सोमवारको नेपाल सरकार मन्त्रिपरिषदको निर्णयबाट अर्को निर्णय नभएसम्मका लागि कुनैपनि प्रकारको सभा/सम्मेलन/भेला आयोजना गर्न प्रतिवन्ध लगाएको निर्णय समेतलाई आधारमानी महासंघको निर्धारित साउन २६ र २७ गतेको वार्षिक साधारण सभा सरकारले सभा/सम्मेलन/भेला गर्ने स्वीकृति दिएको १५ दिन भित्र आयोजना गर्ने ।
चन्द्र ढकालको असहमति
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको मिति सार्ने निर्णयमा एसोसिएट उपाध्यक्षसमेत रहेका बरिष्ठ उपाध्यक्षका उम्मेद्धार चन्द्र ढकालले असहमति जनाएका छन् । बिहीबार दिउँसो पूर्वअध्यक्षहरुसमेतलाई बोलाएर पदाधिकारी बैठकमा उनले असहमति जनाएका हुन् ।
‘तोकिएको मितिमै चुनाव गर्नुपर्छ, हामीलाई सरकारले पनि हेरिरहेको छ, भोलिका दिनमा कानूनी अड्चन पनि आउन सक्छन्,’ ढकालको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक पदाधिकारीले भने ।


