काठमाडौं-विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण हताहत हुने नेपालीको संख्या पनि बढेको छ । कोरोना संक्रमणको प्रभाव बढदै जाँदा विदेशमा शनिबार साँझसम्म १६१ नेपालीको निधन भएको छ ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार विभिनन ३६ मुलुकमा रहेका नेपाली मध्ये १ सय ६१ जनाको मृत्यु भएको हो । संघका अनुसार नेपालमा ज्यान गुमाएका ४५ सहित विश्वभर ज्यान गुमाउने नेपालीको सख्या २०६ पुगेको छ ।
यसैबीच स्वास्थ्य समितिले सार्वजनिकस्थलमा जाँदा र सवारी साधन प्रयोगका क्रममा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड तयार पारेको छ । समितिले सार्वजनिकस्थलमा जाँदा अनिवार्यरूपमा मास्कको प्रयोग गर्नसमेत सुझाएको छ ।
विश्वमा विभिन्न मुलुकमा रहेका ३१ हजार १५० कूल संक्रमितमध्ये २९ हजार २४३ अर्थात् ९३ प्रतिशतभन्दा बढी नेपाली संक्रमणमुक्त भएका छन् । गतहप्ता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये अधिकांश निको भए पनि यस हप्ता त्यहाँ संक्रमणदर केही बढेको छ ।
यस्तै युएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि संक्रमण बढेको समितिले जनाएको छ ।


