श्रावण १५, काठमाडौं ।
सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा साढे ९ करोड रुपैयाँँ राजश्व सङ्कलन भएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले आर्थिक वर्ष २०७६-७७ मा साढे नौ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको हो ।
निकुञ्जले खुम्बु पासाङल्हामु गाउँपालिकाको जोरसल्ले र काठमाडौँको भृकुटीमण्डपमा काउण्टर स्थापना गरेर राजश्व सङ्कलन गरिरहेको छ । कार्यालयका अनुसार नाम्चेस्थित कार्यालयबाट ८ करोड ५६ लाख ११ हजार ९९४ र काठमाडौँ भृकुटीमण्डपस्थित काउन्टरबाट १ करोड १४ लाख नौ हजार सङ्कलन भएको हो ।
तर गत आर्थिक वर्षको तुलनामा सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या भने ५० प्रतिशतले घटेको छ । भ्रमण वर्ष २०२० को सूरुवाती चरणमै कोरोना महामारीका कारण निकुञ्जमा पर्यटकको संख्या घटेको हो ।
वि.सं. २०३२ सालमा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्जको अवलोकन गर्न बर्षनी हजारौ पर्यटकहरु आउने गर्छन् । आर्थिक वर्ष २०७५-७६ मा ५७ हजार २९८ जनाले सगरमाथा राष्ट्रिय निकुञ्जको भ्रमण गरेका थिए । तर आर्थिक वर्ष २०७६-७७ मा कोरोना महामारीका कारण निकुञ्जमा ३२ हजार ६३७ ले मात्र भ्रमण गरेका छन् ।
गत आवमा निकुञ्ज क्षेत्र भ्रमणमा आउने पर्यटक तथा अन्य गतिविधिबाट रु नौ करोड ५७ लाख ६० हजार ९९४ राजश्व सङ्कलन भएको हो । निकुञ्जले विदेशी पर्यटकबाट प्रतिपर्यटक रु तीन हजार प्रवेश शुल्क लिने गरेको छ भने सार्क मुलुकका नागरिकबाट १ हजार ५०० शुल्क लिँदै आएको छ ।


