श्रावण ३२, काठमाडौं ।
आइतवार नेप्से परिसूचक १७ दशमलव ३३ अंकले घटेको छ । साताको पहिलो कारोबार दिन सेयरबजार दोहोरो अंकले ओरालो लागेको हो ।
यस दिन शेयर बजारमा १ सय ८५ कम्पनीको ४३ लाख ७१ हजार कित्ता सेयरको कारोबार भएको छ । आइतबार १ अर्ब २५ करोड ९३ लाख २० हजार ८ सय ५० रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
कुल १२ समूहमध्ये आज व्यापार समूहको मात्रै कारोबार सूचक हरियो छ ्भने अरु सबै रातो देखिएको छ । आज सेयरबजारमा नेपाल बैंक लिमिटेडको ८ करोड १४ लाखको सर्वाधिक कारोबार भएको छ ।
भने नेपाल पुनर्बीमा कम्पनीको ७ करोड ७१ लाखको, नेपाल लाइफ इन्स्योरेनसको ७ करोड ४४ लाखको, एनएमबी बैंकको ६ करोड २१ लाखको र कुमारी बैंक लिमिटेडको ४ करोड ९५ लाखको सेयर कारोबार भएको छ ।
आइतवार सबैभन्दा बढी साधना लघुवित्त वित्तीय संस्थाको सेयर ९ दशमलव ९२ प्रतिशत वृद्धि भएको छ । उक्त कम्पनीको सेयर मूल्य प्रतिकित्ता रू. ६ सय ९८ पुगेको छ । त्यसपछि छ्याङ्दी हाइड्रोपावरका लगानीकर्ताले पनि प्रतिसेयर ९.६४ प्रतिशत कमाएका छन् ।
त्यस्तै आइतवार सबैभन्दा बढी आँखुखोल जलविद्युत् कम्पनीको सेयरधनीले गुमाएका छन् । यस दिन उक्त कम्पनीको सेयर मूल्य ७ दशमलव ४१ प्रतिशत घटेर रू. ५० पुगेको हो ।
चौथो त्रैमासमा अधिकांश कम्पनीको नाफा घटेकाले त्यसको असर सेयर बजारमा परेकाले सेयर मूल्य पनि घटेको हो ।


