नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।
आज १२ हजार ४७३ पीसीआर परीक्षणमा उक्त संक्रमित देखिएका हुन् । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १ हजार ५६६ जना निको भएका छन् । आजसम्म निको हुनेको संख्या २७ हजार १२७ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । संक्रमित हुनेमा ३४९ महिला र ६९२ जना पुरुष रहेका छन् । प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार ८७० रहेको छ ।
त्यस्तै, काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकमामा देखिएका संक्रमित मध्ये काठमाडौँ ३२६ भक्तपुर ४५ र ललितपुरमा ३७ जना कोरोना संक्रमित थपिएका हुन् ।


