कृषि सामग्री कम्पनी लिमिटेडले मल आपूर्ति सम्बन्धी ठेक्का तोडेको छ । कम्पनीले मलको ठेक्का लिएर समयमै उपलब्ध नगराउने प्रचण्डका घरबेटी सारदा प्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन र काँग्रेस नेता होमनाथ अधिकारीको होबिको मल्टिपल कम्पनीसँगको ठेक्का तोडदै धरौटी जफत गरेको हो ।
कृषि सामग्रीक कम्पनीले दुवै ठेकेदारले राखेको पाँच पाँच करोड धरौटी राखेका थिए । दुई ठेकेदारहरुले ५० हजार मेट्रिक टन युरिया मल ल्याउनका लागि पुस २८ र ४ माघमा गरिएको टेण्डरमा ठेक्का पाएका थिए ।
दुवै कम्पनीले गरेको ठेक्का सम्झौताअनुसार साउन १० गतेसम्म पहिलो लट तथा भदौ २० भित्र सबै मल ल्याइसक्नुपर्ने थियो । तर सम्झौताका मिति सकिँदासम्म पनि उनीहरुले सामान सिपमेण्ट हुने वा भएको कुनै वस्तुगत प्रमाण पेश नगरेकोले कारबाही गरिएको हो ।
प्रचलित कानुन अनुसार सप्लार्यसँग क्षतिपूर्ति दावी गरिने केन्द्रले जनाएको छ । साथै, ती कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया समेत अघि बढाइने भएको छ ।
कम्पनीले धान बालीका मल ल्याउने गरी गत वैशाखमा ती दुई कम्पनीसँग सम्झौता गरेको थियो । तर, थपेको म्यादमा समेत मल नल्याएपछि कारबाही गरिएको जनाइएको छ ।
कृषि सामग्रीको पत्रमा भनिएको छ, ‘सम्पूर्ण सामान डेलिभरी गरी सक्नुपर्ने म्याद ५ सेप्टेम्बर अर्थात भदौ २० सम्म रहेकामा सो मितिमा समेत कम्पनीले माग गरेको भेसल नोमिनेसन, भेसलको नाम उपलब्ध नगराएको र सामान सिपमेन्ट हुने वा भएको कुनै वस्तुगत एवम् विश्वसनीय तथ्य प्रमाणहरु प्राप्त नभएकाले मिति २०७७/०५/२१ गतेको निर्णयअनुसार निज सप्तालर्यहरुले यस कम्पनीको नाममा राखेको कार्यसम्पादन जमानत जफत गरी सम्झौता रद्ध गरिएको छ ।’
कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले आइतबार साँझ पत्रकार सम्मेलन गरी समयमै मल आपूर्ति नगरेपछि ती दुबै कम्पनीको बैंक ग्यारेन्टी रोक्का गरिएको बताए । उनका अनुसार कालो सूचीमा राख्नेलगायतका कारबाही अगाडि बढाइएको छ ।
सरकारले नेपालमै रासायनिक मलको कारखाना खोल्न पनि प्रक्रिया अगाडि बढाएको छ । सरकारले रासायनिक मलको कारखानाका लागि सम्भाव्यता अध्ययन गर्न कृषि सचिव राजेन्द्रप्रसाद भारीको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।


