भाद्र ३०, काठमाडौं ।
भारत सरकारले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा प्याजको मुल्य ह्वात्तै बढेको छ । भारतमा प्याजको मुल्य बढेपछि देशमा प्याजको उपलब्धता बढाउने तथा घरेलु बजारमा बढिरहेको प्याजको मूल्यमा नियन्त्रणका लागि सरकरले निर्यातमा रोक लगाएको भारतको विदेश ब्यापार महानिर्देशालयले जनाएको छ ।
बेंगलुरु रोज तथा कृष्णापुरम जातको प्याजलाई पनि यसपटक निर्यातमा रोक लगाइएको छ । हालसम्म यी दुई प्रकारका प्याज निर्यातमा प्रतिबन्ध लगाइएको थिएन । कोरोना भाईरसको महामारीको समयमा पनि भारतबाट प्याजको धेरै नै निर्यात भएको तथ्यांक छ । अप्रिलदेखि जुनको अवधिमा मात्र भारतबाट १९ करोड ८० लाख डलर बराबरको प्याज निर्यात गरिएको छ । गत वर्ष ४४ करोड डलरको प्याज निर्यात भएको थियो ।
भारतबाट बंगलादेश मलेसिया, यूएई र श्रीलंकामा सबैभन्दा धेरै प्याज निर्यात हुँदै आएको छ । अहिले भारतमा प्याजको कारोबार मूल्य किलोको ५० भारु सम्म पुगेपछि सरकारले निर्यात रोकेको हो । भारतले प्याज निर्यातमा रोेक लगाएपछि जसको प्रत्यक्ष असर नेपालमा पनि परिरहेको छ ।
भारतबाट २९ भदौ देखि प्याज नआएकाले नेपालमा अभाव भएको व्यापारीहरु बताउँछन् । कुनै व्यापारीहरुसँग भएको प्याज पनि महँगोमा बिक्री भइरहेको छ । केही दिन अघि सम्म किलोको ५० देखि ६० रुपैँयामा पाइने प्याजको खुद्रा मूल्य हाल व्यापारीहरुले ९० रुपैयाँसम्म लिने गरेको उपभोक्ताहरुको गुनासो रहेको छ ।
भारतले निर्यात रोकेको बहानामा व्यापारीहरुले स्टकमा रहेको प्याजको कृत्रिम अभाव सिर्जना गर्दै महँगोमा बेचिरहेको उपभोक्ताहरुको आशंका रहेको छ । गत वर्ष पनि भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाली बजारमा प्याजको मूल्य बढेर प्रतिकेजी २ सय ५० रुपैयाँसम्म पुगेको थियो ।


