Banijya News

विद्युतीय सवारीसाधनका समस्या समाधान गर्न व्यवसायीको माग

1
1.0K Shares

यातायात व्यवसायीले सार्वजनिक विद्युतीय सवारीसाधन सञ्चालनका क्रममा देखिएका समस्या समाधान गर्न माग गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बागमती प्रदेश समितिले हिजो बिहीबार यहाँस्थित विद्युतीय सवारीसाधनका आधिकारिक विक्रेताका प्रतिनिधिलाई भेटेर विद्युतीय सवारीसाधन सञ्चालनमा देखिएका समस्या समाधान गर्न माग गरेको हो ।

पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढे पनि बिक्रीपछिको सेवा प्रभावकारी नहुँदा व्यवसायी र यात्रु दुवै समस्यामा परेको महासंघले जनाएको छ ।

महासंघ बागमती प्रदेशका संयोजक सुवर्ण गिरीले विद्युतीय सवारीसाधन सञ्चालनका क्रममा व्यवसायीले भोग्नुपरेका समस्याप्रति गम्भीर हुन सम्बद्ध कम्पनीलाई आग्रह गरे । उनले बजारमा विद्युतीय सवारीसाधनका स्पेयर पाट्र्सको अभाव रहेको, आवश्यक पार्टपुर्जा समयमा उपलब्ध नहुँदा सवारीसाधन ग्यारेजमा थन्क्याउनुपर्ने र मर्मतसम्भार सेवा प्रभावकारी नभएको बताए ।

यस्तै, उनले चार्जिङ सेवामा प्राविधिक समस्या देखिएकाले त्यसको तत्काल समाधान गर्नुपर्नेमा जोड दिए । व्यवसायीले विद्युतीय सवारीसाधन बिक्रीका क्रममा कम्पनीले गरेका प्रतिबद्धता र आश्वासन व्यवहारमा कार्यान्वयन नभएको गुनासो गरेका छन् ।

संयोजक गिरीले सार्वजनिक यातायात क्षेत्रमा व्यवसायीको ठूलो लगानी, हजारौँको रोजगारी र नागरिकको दैनिक जीवन प्रत्यक्ष जोडिएकाले कम्पनीले आफ्नो जिम्मेवारीबाट पन्छिन नहुने बताए ।

महासंघले आफूले बिक्री गरेका सवारीसाधनमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता पूरा नगरे थप कडा कदम चाल्ने जनाएको छ ।

1

Scroll to Top