जीवन बीमा कम्पनीहरूले एक वर्षमा ८६ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेका छन् । कम्पनीहरूले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार १४ जीवन बीमा कम्पनीले कुल ८६ अर्ब ३० करोड ८५ लाख २३ हजार रुपैयाँ दाबी भुक्तानी गरेका हुन् ।
यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ९.६४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरूले ७८ अर्ब ७२ करोड ६ लाख ७९ हजार रुपैयाँ दाबी भुक्तानी गरेका थिए ।
समीक्षा अवधिमा अधिकांश कम्पनीको दाबी भुक्तानी बढेको देखिएको छ । १४ मध्ये नौ कम्पनीको दाबी भुक्तानी बढ्दा पाँच कम्पनीको भने घटेको छ । दाबी भुक्तानी रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि रहेको छ । कम्पनीले गत आर्थिक वर्षमा २१ अर्ब ५७ करोड ९२ लाख १० हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको दाबी भुक्तानी १९ अर्ब १९ करोड ६४ लाख ५५ हजार रुपैयाँ थियो ।
त्यस्तै, नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा १३ अर्ब ९६ करोड ६३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको ११ अर्ब ७ करोड १२ लाख ६९ हजार रुपैयाँको तुलनामा कम्पनीको दाबी भुक्तानी २६.१५ प्रतिशतले बढेको हो ।
यसैगरी, राष्ट्रिय जीवन बीमा कम्पनीले ७ अर्ब ९५ करोड ९ लाख ५१ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष ६ अर्ब ५६ करोड १९ लाख ४० हजार रुपैयाँ रहेको दाबी भुक्तानी २१.१७ प्रतिशतले बढेको हो ।
लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले १३ अर्ब ६ करोड ३६ लाख ५४ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको १२ अर्ब ५९ करोड २ लाख ३६ हजार रुपैयाँको तुलनामा कम्पनीको दाबी भुक्तानी ३.७६ प्रतिशतले बढेको छ ।
यसैगरी, हिमालयन लाइफ इन्स्योरेन्सले ७ अर्ब ९१ करोड ९४ लाख, एशियन लाइफ इन्स्योरेन्सले ५ अर्ब ८४ करोड २५ लाख, सूर्यज्योति लाइफ इन्स्योरेन्सले ३ अर्ब ६५ करोड ४३ लाख र मेट लाइफ इन्स्योरेन्सले ३ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।
सिटिजन लाइफ इन्स्योरेन्सले १ अर्ब ९३ करोड ९७ लाख, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १ अर्ब ५७ करोड ५ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब ४८ करोड ९ लाख ८ हजार रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।
त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्सले १ अर्ब ४६ करोड ५९ लाख र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १ अर्ब ५ करोड १० लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।
यता, सन नेपाल लाइफ इन्स्योरेन्सको दाबी भुक्तानी भने घटेको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ४८ करोड ८५ लाख ४७ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष १ अर्ब ५७ करोड ३३ लाख ९९ हजार रुपैयाँ रहेको दाबी भुक्तानी ५.३९ प्रतिशतले घटेको हो ।
समग्रमा जीवन बीमा कम्पनीहरूको दाबी भुक्तानी बढ्नुले बीमितबाट प्राप्त दाबीको रकम भुक्तानी गर्ने गतिविधि विस्तार भएको देखाउँछ । कम्पनीहरूको वित्तीय विवरणले बीमा व्यवसायमा दाबी भुक्तानीको आकार वर्षेनी बढ्दै गएको संकेत गरेको छ ।


