Banijya News

नेपाली घ्यू दुबई पठाउँदै, डीडीसीको ६ सय केजी घ्यू निर्यात

1
1.0K Shares

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले उत्पादन गरेको घ्यू पहिलो पटक अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सफल भएको छ। नेपाली दुग्धजन्य उत्पादनलाई विश्व बजारमा स्थापित गर्ने लक्ष्यसहित डीडीसीले आफ्नो पहिलो घिउ खेप संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पठाएको हो। यस कदमलाई नेपालको दुग्ध उद्योगका लागि ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।

हालै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत डीडीसीका उत्पादनहरूको प्रचार गरेपछि संस्थानका उत्पादनप्रति आमचासो बढेको थियो। यही समयमा डीडीसीले विदेशी बजारमा प्रवेश गर्दै आफ्नो उत्पादनलाई अन्तर्राष्ट्रिय उपभोक्तासम्म पुर्‍याउने अभियान सुरु गरेको हो।

डीडीसीका अनुसार पहिलो चरणमा परीक्षण स्वरूप १ हजार २०० जार घिउ दुबई पठाइएको छ। प्रत्येक जारमा ३५० मिलिलिटर घिउ रहेको छ, जसअनुसार कुल ४२० लिटर अर्थात् करिब ६ सय किलो घिउ निर्यात गरिएको हो। यस खेपको लागत मूल्य करिब ५ लाख ५० हजार रुपैयाँ रहेको डीडीसीका अर्थविद् अन्जन अधिकारीले जानकारी दिए।

दुबई बजारका लागि विशेष प्रकारका आकर्षक सिसाका जारमा घिउ प्याकेजिङ गरिएको छ। त्यहाँ सञ्चालनमा आउन लागेको एक ठूलो डिपार्टमेन्ट स्टोरबाट माग आएपछि तत्कालका लागि हवाई मार्गमार्फत घिउ पठाइएको हो। हवाई ढुवानी खर्च तुलनात्मक रूपमा महँगो भए पनि बजार परीक्षण सफल भए आगामी दिनमा समुद्री कन्टेनरमार्फत ठूलो परिमाणमा निर्यात गर्ने योजना रहेको बताइएको छ।

नेपालको निर्यातकर्ता कम्पनी ‘रातो र चन्द्र सूर्य इन्टरनेसनल’ मार्फत घिउ दुबई पठाइएको हो। कम्पनीका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेका अनुसार सम्झौताअनुसार पहिलो चरणमा ६ सय किलो घिउ निर्यात गरिएको हो। उनले दुबईमा आवश्यक सबै गुणस्तर परीक्षण, खाद्य सुरक्षा मापदण्ड र आयात प्रक्रियाहरू पूरा गरेर मात्रै निर्यात गरिएको बताए।

डीडीसीको लक्ष्य दुबईमा बजार स्थापित गरेपछि अन्य मध्यपूर्वी मुलुकहरूमा समेत विस्तार गर्ने रहेको छ। साथै, भविष्यमा घिउ मात्र नभई पनिर, बटर, दूध पाउडर लगायत अन्य दुग्धजन्य उत्पादनलाई पनि विदेशी बजारमा पुर्‍याउने तयारी भइरहेको छ।

हाल नेपालमा डीडीसीको घिउ बट्टामा प्रतिलिटर १,३०० रुपैयाँ र पाउचमा प्रतिलिटर १,२५० रुपैयाँमा बिक्री हुँदै आएको छ। दुबईमा यसको मूल्य भने ढुवानी, कर तथा स्थानीय बजारको अवस्थाअनुसार तय गरिनेछ।

1

Scroll to Top