भाद्र ३१, काठमाडौँ ।
भारत सरकारले नेपाललाई कोरोना भाइरसको उपचारका लागि २ हजार भाइल रेमडेसिभिर औषधि सहयोग गरेको छ । मंगलबार भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई दुई हजार भाइल रेमडेसिभिर औषधि हस्तान्तरण गरेका हुन् ।
कोभिड–१९ को महामारीले निम्त्याएको चुनौती सामना गर्न भारत सरकारले नेपाललाई गरिरहेको सहयोगअनुरुप उक्त औषधी हस्तान्तरण गरिएको भारतीय राजदूतावासले जनाएको छ ।
यसअघि भारतले गत वैशाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्विन लगायतका अत्यावश्यक औषधि, जेष्ठ ४ गते कोभिड–१९ टेष्ट कीट (आरटी–पीसीआर) र श्रावण २५ गते आइसीयू भेन्टिलेटर जस्ता स्वास्थ्य सामग्री नेपाललाई सहयोग गरेको थियो ।
निकटतम मित्र तथा छिमेकीको हैसियतले कोरोना भाइरसको महामारी विरुद्धको लडाइँमा भारत नेपाल सरकार र नेपालीको साथमा रहेको दूतावासले जनाएको छ ।


