काठमाडौ ।
रामेछापको भँगेरीमा ४४ करोड लागतमा पुष्पलाल स्मृति पार्क निर्माण हुने भएको छ । सरकारले चार वर्षअघि निर्माण गर्ने घोषणा गरेको उक्त पार्क जग्गा प्राप्तिका लागि मुआब्जा दिन समयमा नै बजेट निकासा नहुँदा काम रोकिएको थियो ।
यस आर्थिक वर्षबाट उक्त पार्कको निर्माणको काम अगाडि बढ्ने भएको हो । शहरी विकास तथा भवन निर्माण विभागले निर्माण हुने उक्त पार्कको डीपीआर तयार गरिसकेको छ । शहरी तथा भवन निर्माण आयोजना कार्यालय रामेछापका प्रमुख नारायणप्रसाद भण्डारीले यस आर्थिक वर्षबाट पार्क निर्माणको काम अगाडि बढाइने बताए ।
पार्कको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)को काम सम्पन्न गरेर सरकारले पार्क निर्माणको काम अगाडि बढाउने लागेको हो । पार्क निर्माण गर्न ५२ रोपनी जग्गा अधिग्रहण गरेर मुआब्जा दिने काम सम्पन्न गरिसकेको छ । पुष्पलाल स्मृति उद्यानको कार्य प्रगति र डिजाइनका बारेमा शहरी विकास तथा भवन निर्माण विभागले सरकारलाई केही दिन अगाडि जानकारी गराएको थियो ।
सरकाले यस आर्थिक वर्षबाटै काम अगाडि बढाउन निर्देशन समेत दिएको छ । पार्कभित्र पुष्पलाल, गंगालालकोे सालिक राखिने भएको छ । पुष्पलाल श्रेष्ठको स्मृतिमा पार्क निर्माणका लागि यस वर्ष संघीय सरकारबाट १० करोड ५ लाख रुपियाँ विनियोजन गरिएको छ ।


