सरकारले दशैँ तिहारसम्म सार्वजनिक यातायात सहज रुपमा संचालन गर्ने जनाएको छ । शुक्रबार संघीय संसद अन्तर्गत विकास तथा प्रविधि समितिले आयोजना गरेको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री वसन्तकुमार मन्त्री नेम्वाङले उक्त कुरा बताएका हुन् ।
सरकारले यातायात ब्यावसायीको आग्रहमा दशैंतिहारमा पूर्ण क्षमतामा सवारी साधन संचालनको भित्री तयारी गरेको छ । यातायात ब्यावसायीले समेत हवाई सेवा पूर्णक्षमतमा संचालन गर्ने तर गुडने यातायातलाई भने उत्त नियम लागु नगरेर विभेद गरेको बताई रहँदा सरकारका मन्त्रीले नै चाडवाडमा पूर्ण क्षमतामा नै यातायात खोल्ने संकेत गरेका हुन् । उनले हवाई उडान पूर्ण सीट क्षमतामा सञ्चालन भएको र सरोकारवालाहरुबाट गुनासो समेत आएकाले सार्वजनिक यातायात सञ्चालन मापदण्ड संशोधनका लागि कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) मा प्रस्ताव पेश गरिएको समेत बताएका छन् ।
विश्वव्यापी कोरोना महामारी र भारीबर्षाका कारण विभिन्न राजमार्ग तथा पुलहरुमा क्षति पुग्दा सार्वजनिक यातायात सञ्चालनमा कठिनाई भएपनि नेपालीहरुको ठूला चाडपर्व दशैँतिहार अगावै सहज भइसक्ने बताएका हुन् । उनले प्राकृतिक विपतलाई रोक्न नसकिएपनि त्यसको व्यवस्थापनमा मन्त्रालय तदारुकताका साथ लागेको उल्लेख गरे ।
मन्त्री नेम्वाङले बढ्दो कोरोना संक्रमणबीच अस्तव्यस्त अर्थतन्त्रलाई चलायमान गर्न स्वास्थ्य मापदण्ड पालना गर्दै लामो, मध्यम र छोटो दूरीको सवारी साधन खुल्ला गरिएको प्रष्ट पारे । सरकारले कडाईका साथ निर्णय गरेर मात्र नहुने उल्लेख गर्दै उनले सेवाग्राही, व्यवसायी सरोकारवाला सबै अनुशासित भएर लाग्नुपर्ने बताए ।


