कर्णाली प्रदेशको राजनीतिक संकट समाधानको दिशामा अघि बढेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आइतवार १८ जना प्रदेशसभा सदस्यले हस्ताक्षर गरी अविश्वासको प्रस्ताव पेश गरेपछि कर्णालीमा देखिएको राजनीतिक संकट समाधानको दिशामा पुगेको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका माधव नेपाल समूहका प्रदेशसभा सदस्यहरु ब्याक भएपछि राजनैतिक संकट समाधान भएको हो ।
छलफलमा सहभागी एकजना प्रदेशसभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्यले सैद्धान्तिक सहमति भएको बताए । मुख्यमन्त्री शाही र नेपाल समूहबीच सहमति भइसकेको छ । सहमति अनुसार नेपाल समूहले तीनजना मन्त्री र एक जना संसदीय दलको सचेतक पाउने भएको छ ।
नयाँ सहमति अनुसार माधव नेपाल समूहका प्रदेश सभा सदस्य कुर्मराज शाही सचेतकमा नियुक्त भएका छन् । यसअघि सचेतक रहेकी सीता नेपाली प्रमुख सचेतकमा सोमवार मात्रै नियुक्त भएकी थिइन् । यसअघि ७ सदस्य रहेको प्रदेशको मन्त्रिमण्डल बढाएर ८ सदस्यीय बनाइने भएको छ ।


