कार्तिक २, काठमाडौं ।
लमजुङमा निर्माण हुन लागेको न्यादी फिदी जलविद्युत् आयोजनामा ४ बैंकले ३ अर्ब ८ करोड रुपैयाँ लगानी गर्ने भएका छन् । उक्त आयोजनामा माछापुच्छ्रे बैंक, बैंक अफ काठमाडौं, सानिमा बैंक र सिभिल बैंकले उक्त रकम ऋण लगानी गर्ने भएका हुन् ।
यसका लागि गत बिहीवार प्रवद्र्धक कम्पनी नर्थ समिट हाइड्रो र बैंकहरूबीच वित्तीय व्यवस्थापन सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु थापा र कम्पनीका प्रबन्ध निर्देशक बालेन्द्र क्षेत्रीले हस्ताक्षर गरे । अन्य बैंकहरूका प्रतिनिधि भने भर्चुअल माध्यमबाट सहभागी थिए ।
नर्थ समिट हाइड्रोले लमजुङमा २१ दशमलव ४ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्न रू. ४ अर्ब ११ करोड लगानी लाग्ने अनुमान गरेको छ । उक्त बैंकहरूले त्यसको ७५ प्रतिशत रकम ऋण लगानी गर्ने भएका हुन् । बाँकी रहेको २५ प्रतिशत लगानी भने कम्पनीले शेयरधनीमार्फत स्वपूँजीको रूपमा जुटाउने भएको छ ।
कम्पनीले प्राधिकरणसँग हिउँदमा ८ रुपैयाँ ४० पैसा र बर्खामा ४ रुपैयाँ ८० पैसाको दरमा पीपीए गरेको छ । साथै, विद्युत् विकास विभाग, उद्योग विभाग, वन तथा वातावरण मन्त्रालयबाट गर्नुपर्ने सबै कानूनी प्रक्रिया पूरा भइसकेको छ । अहिले आयोजनाको ‘प्रि–कन्स्ट्रक्सन’ अन्तर्गत आयोजनास्थलमा सडक पहुँच पु¥याउने काम भइरहेको कम्पनीले जनाएको छ ।


