प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दाको ऋण अनुदानमा बदलिने सम्भावना रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ कास्की शाखाले आयोजना गरेको पत्रकारिता सम्मान अर्पण कार्यक्रमलाई आइतबार बिहान सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
प्रचण्डले पोखरा एयरपोर्टको सबै ऋणलाई अनुदानमा बदल्न आफूले प्रयास गरिरहेको बताएका छन् । उनले भने –‘२५ प्रतिशत मात्र होइन सम्पूर्ण ऋणलाई अनुदानमा परिमार्जन गर्न मेरो ध्यान छ । त्यो सम्भावना देखेको छु,’ उनले अगाडि भने, ‘अहिलेलाई यत्ति मात्रै भन्छु ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखराबाट छिट्टै अन्तर्राष्ट्रिय उडान सुरु हुने पनि बताएका छन् । उनले पोखराबाट अन्तर्राष्ट्रिय उडान सुचारु गर्न छिमेकी राष्ट्रसँग पहल गरेको दाबी गरे । नियमित उडान भर्न आफुले ध्यान दिइरहेको बताए ।
‘अन्तर्राष्ट्रिय उडान नियमित रूपमा ल्याउने वातावरण बनाउन मैले छिमेकी राष्ट्रहरूको भ्रमणको सन्दर्भमा मुख्यत चिन भ्रमणको सन्दर्भमा एउटा समझदारी बनेको छ,’ उनले भने, ‘छिट्टै नियमित उडानको व्यवस्था हुने विश्वास मलाई छ ।’


