मङ्गलबार पहिलो कारोबार भएको सर्वोत्तम सिमेन्टको सेयरभाउमा सकारात्मक सर्किट लागेको छ । कारोबार भएको पहिलो दिन नै सर्वोत्तम सिमेन्टको सेयर मूल्य १० प्रतिशत बढेको छ ।
नेप्सेले दिएको ओपनिङ रेञ्जको अधिक मूल्य ५५६ रुपैयाँमा पहिलो कारोबार भएको सर्वोत्तमको मूल्य अन्ततः १० प्रतिशत बढेर ६११ रुपैयाँ ६० पैसा पुगेको छ ।
उक्त सेयरमा अहिले उच्च माग रहेको छ भने हालसम्म कुल ४०० कित्ता सेयरको कारोबार भएको छ । नेप्सेले कम्पनीलाई ‘एसएआरबीटीएम’ सिम्बोल प्रदान गरेको छ ।
एक दिनमा १० प्रतिशतसम्म मात्रै मूल्य घटबढ हुन सक्ने व्यवस्था छ । जसकारण मंगलबारका लागि कम्पनीको मूल्य ६११ रुपैयाँ ६० पैसा नै हुनेछ । कम्पनीको कुल ४ करोड ६५ लाख कित्ता सेयर सूचीकृत भएको छ । जसमा १२.९०३३ प्रतिशत अर्थात् ६० लाख कित्ता सर्वसाधारण समूहको र ८७. ०९६७ प्रतिशत अर्थात् ४ करोड ५ लाख कित्ता संस्थापक समूहको सेयर सूचीकृत भएको हो ।
हाल नेप्सेमा सर्वोत्तमसहित सोना, शिवम् र घोराही गरि चार सिमेन्ट कम्पनी सूचीकृत रहेका छन् जसमध्ये सर्वोत्तम सिमेन्ट सबैभन्दा महङ्गो कम्पनी बनेको छ ।
घोराही सिमेन्ट प्रति कित्ता ५६९, सोनापुर सिमेन्ट ५३० र शिवम् सिमेन्ट ५७३ रुपैयाँमा कारोबार भइरहेको छ ।


