नेकपा (एमाले) ले नेपाली कांग्रेसलाई दिएको समर्थन फिर्ता लिएसँगै बागमती प्रदेशमा नयाँ राजनीतिक समीकरणको बहस सुरु भएको छ। एक सय चार सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको स्पष्ट बहुमत आवश्यक पर्छ। हाल एमालेसँग २५ र नेकपासँग २६ सिट मात्र रहेका कारण यी दुई दलको मात्र संख्याले बहुमत पुग्ने अवस्था छैन। यसैलाई ध्यानमा राख्दै एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकार निर्माणका लागि नेकपासहित अन्य साना दलहरूसँग साझेदारीको विकल्पमा निरन्तर छलफल भइरहेको स्पष्ट पारेका छन।
प्रदेशसभाको सबभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि चुपचाप नबसी आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कसरत थालिसकेको छ। कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक पुकार महर्जनका अनुसार नयाँ सत्ता समीकरण बनाउन पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र हाम्रो नेपाली पार्टीसँग संवाद अघि बढाइएको छ।
३६ सिट भएको कांग्रेसलाई सरकार बनाउन थप १७ सांसदको आवश्यकता पर्ने देखिएकाले उनीहरू साना दलहरूको समर्थन जुटाउने रणनीतिमा केन्द्रित छन्। बागमती प्रदेशको अंकगणित हेर्दा राप्रपाका १२, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सिट नयाँ सरकार गठनका लागि निर्णायक देखिन्छन्।
एमाले–नेकपा गठबन्धन होस् वा कांग्रेसको एकल पहल, दुवै पक्षलाई बहुमत पुर्याउन साना दलहरूको अनिवार्य साथ लिनुपर्ने बाध्यता रहेको छ। यसै कारणले गर्दा प्रदेशका यी साना दलहरूसँग राजनीतिक भेटघाट र संवाद बाक्लिएको छ भने आगामी सरकार कसको नेतृत्वमा बन्ने भन्ने कुरा उनीहरूको निर्णयमा निर्भर रहनेछ।


