संघीय शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सोमबार जनकपुरधामस्थित संकटमोचन माध्यमिक विद्यालयका विद्यार्थीसँग घुलमिल हुँदै खेलकुद सामग्री हस्तान्तरण गरेका छन । विद्यार्थीसँग संवाद गर्दै उनीहरूको उत्साहमा सहभागी बुनेका मन्त्री पोखरेलले शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए ।
गत वैशाखमा सोही विद्यालयको अनुगमनका क्रममा विद्यार्थीहरूले विद्यालयमा खेलकुद सामग्रीको अभाव रहेको गुनासो गरेका थिए । सोही गुनासोलाई सम्बोधन गर्दै आफू पुनः विद्यालयमा खेलकुद सामग्री लिएर आएको मन्त्री पोखरेलले जानकारी दिए ।
उनले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पढाइसँगै खेलकुद पनि उत्तिकै आवश्यक रहेको उल्लेख गर्दै विद्यालयस्तरमा खेलकुद गतिविधि विस्तार गर्न सरकारले आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्तगरे । उनले भने, “विद्यालयमा खेलकुद प्रशिक्षक पनि राख्नुपर्ने आवश्यकता छ ।”
यसअघि जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री पोखरेलले आफ्नो भ्रमणको मुख्य उद्देश्य विश्वविद्यालयमा देखिएका समस्या प्रत्यक्ष रूपमा बुझ्नु र सरोकारवालासँग छलफल गरी समाधानका उपाय अघि बढाउनु रहेको बताए । उनले समस्याको पहिचान गरी व्यावहारिक समाधानसहित सरकारले काम गरिरहेको उल्लेख गरे ।
मन्त्री पोखरेलले प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने विषयमा तयार गरिएको प्रतिवेदन प्रदेश सरकारलाई बुझाइसकिएको जानकारी दिँदै त्यसको कार्यान्वयनका लागि आवश्यक समन्वय भइरहेको बताए ।
विश्वविद्यालयको भौतिक पूर्वाधार सुदृढीकरणका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया चाँडै टुङ्ग्याएर भवन निर्माणको काम अघि बढाइने उनले जानकारी दिए । यसबाट उच्च शिक्षाको गुणस्तर अभिवृद्धि हुनुका साथै विद्यार्थीले सहज शैक्षिक वातावरण पाउने विश्वाससमेत उनले व्यक्त गरे ।


