Banijya News

सम्पत्ति शुद्धीकरणको अभियोगमा रिडी पावरका पूर्वअध्यक्ष न्यौपाने दोषी ठहर

1
1.0K Shares

रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपाने सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका छन् ।

विशेष अदालतले उनलाई शेयरको भित्री कारोबार (इनसाइड ट्रेडिङ) गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि १५ चैतमा पेश गर्न आदेश दिएको छ ।

२०५६ सालदेखि नै रिडी पावरका संस्थापक, प्रवर्द्धक र प्रमुख कार्यकारी अधिकृत रहेका न्यौपाने १९ चैत २०७७ देखि २४ साउन २०७८ सम्म उक्त संस्थाको अध्यक्ष थिए ।

उनी अध्यक्ष भएकै बेला ४ जेठ २०७८ मा रिडी पावरले आफूसँग भएको रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १४ लाख कित्ता शेयर बिक्री गर्ने निर्णय गरेको थियो ।

तर उक्त निर्णयभन्दा डेढ महिना अघिदेखि नै तत्कालीन अध्यक्ष न्यौपानेले रिडीको शेयर किनेको भेटिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जनाएको छ ।

त्यतिबेला उनले रिडीको करिब ३० हजार कित्ता शेयर २०३ देखि २१२ रुपैयाँको दरले शेयर किनेका थिए । पछि उनले आफूसँगै भएको समेत गरी रिडीको करिब ४० हजार कित्ता शेयर प्रतिशेयर ५९१ देखि ७३१ रुपैयाँका दरले बेचेको खुलेको थियो ।

उनले रैराङको शेयर बिक्रीको निर्णय हुनुभन्दा डेढ महिना अघिदेखि नै धमाधम रिडीको शेयर किनेका थिए ।

निर्णयपछिको एकदेखि तीन महिनाभित्र तिनै शेयर फेरि बेचेका थिए । धितोपत्र बोर्डले भित्री कारोबारबिना खरिद बिक्रीको कामलाई संयोगमात्रै भन्न नसकिने निष्कर्षका साथ उनीमाथि मुद्दा चलाभएको विभाग स्रोतको दाबी छ ।

धितोपत्र बोर्डका अनुसार न्यौपानेले १९ चैत २०७७ देखि २४ साउन २०७८ सम्म रिडी हाइड्रोपावरको शेयर १४ पटक खरिद र १२ पटक बिक्री गरेका थिए । आफूमात्रै नभई उनले श्रीमती सुमित्रादेवी न्यौपाने, छोराहरु सञ्जीव न्यौपाने, सतिश न्यौपाने, बुहारीहरु सलिना नेपाल र सिर्जना खड्काको नाममा रहेको शेयर पनि खरिदबिक्री गरेका थिए ।

कुनै पब्लिक कम्पनीको सञ्चालक समितिमा रहँदा वा समिति छाडेको एक वर्षभित्र आफू वा परिवारको सदस्यले सम्बन्धित कम्पनीको शेयर कारोबार गर्न नपाउने कानुनी व्यवस्था छ । तर उनले आफू अध्यक्ष रहेकै कम्पनीको शेयर किनबेच गरेका थिए ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई शेयरको भित्री कारोबारमा संलग्न रहेको ठहर्याई त्यसबाट कमाएको रकम समेत अवैध हुने ठहर गरेको हो ।

विशेष अदालतले आगामी १५ चैतमा उनीमाथि हुने सजाय निर्धारण गरी विगो र जरिवाना समेत तोक्नेछ ।

 

1

Scroll to Top