सामाजिक सुरक्षा कोषका योगदानकर्ताले ८५ अस्पतालबाट सेवा पाउने भएका छन् । अब कोषमा आवद्ध भएका योगदानकर्ताले ८५ अस्पतालहरुमध्ये जुन सुकै अस्पतालमा गएर एक आर्थिक वर्षभित्र एक लाख रुपैयाँ बराबरको औषधि उपचार र सात लाखसम्मको दुर्घटना उपचार खर्च पाउने भएका हुन् ।
योगदानकर्तालाई असुविधा नहोस् भनेर कोषले धेरै भन्दा धेरै अस्पतालहरुबाट सेवा दिने प्रयास गरिरहेको कोषका उप कार्यकारी निर्देशन विवेक पन्थी बताउँछन्। पन्थीका अनुसार असार मसान्त भित्रै सुष्मा कोइराला मेमोरियल हस्पिटल, नर्भिक हस्पिटल र नेपाल प्रहरी अस्पताललाई पनि कोषमा आबद्ध गराउने तयारी रहको छ ।
अस्पतालहरुलाई कोषमा आबद्ध गराउन सुरु गरेको चार वर्ष नपुग्दै ८५ वटा अस्पताल आबद्ध भइसकेको बताउँदै उनले अबको दुई वर्षमा यो संख्या दोब्बर पुर्याउने लक्ष्य लिएको बताए । सरकारी सबै हस्पिटलबाट सेवा दिनलाई पत्र पठाइसकेको उनले बताए । अब अन्य सरकारी अस्पताल पनि छिट्टै कोषमा आवद्ध हुने उनको तर्क छ ।
कोषमा आबद्ध ८५ अस्पताल मध्ये काठमाडौं उपत्यकाका मात्र २४ अस्पताल आवद्ध रहेका छन् । यस्तै, कोषमा कोशी प्रदेशबाट १७ ओटा अस्पताल आबद्ध छन् भने मधेस प्रदेशबाट १४ वटा, बाग्मती प्रदेशबाट ३५ ओटा, गण्डकी प्रदेशबाट ९ ओटा, लुम्बिनी प्रदेशबाट आठ ओटा र सुदुर पश्चिम प्रदेशबाट २ ओटा अस्पताल कोषमा आबद्ध भएका छन् ।
औषधि अपचार योजनामा एक अर्ब भुक्तानी
सामाजिक सुरक्षा कोषले हालसम्म औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा १ अर्ब ६ करोड ४७ लाख ९१ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
कोषले जेठ ९ गते बुधबारसम्म ६२ हजार ८१२ जनाले २ लाख ३३ हजार १४४ पटक गरेर उक्त रुपैयाँ दाबी भुक्तानी गरेको हो । औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा हालसम्म १ अर्ब ५८ करोड ४८ लाख २६ हजार रुपैयाँ जम्मा भएको छ । जसमा औपचारिक क्षेत्रमा योगदानकर्ताकर्ताबाट १ अर्ब ५८ करोड ४१ लाख ५९ हजार रुपैयाँ संकलन भएको छ भने अनौपचारिक क्षेत्रका योगदानकर्ताबाट ६ लाख ३७ हजार रुपैयाँ संकलन भएको छ । यस्तै, औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा स्वरोजगार क्षेत्रबाट २९ हजार रुपैयाँ संकलन भएको छ ।
अन्य कुन योजनाबाट कति भयो भुक्तानी ?
सामाजिक सुरक्षा कोषमा औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवारसुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना गरी चार प्रकारका योजनाहरु छन् ।
जसमध्ये सामाजिक सुरक्षा कोषले दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा १२ करोड १२ लाख ६८ हजार ४४० रुपैयाँ भुक्तानी गरेको छ । कोषले उक्त योजनामा तीन हजार २३० जनालाई दाबी भुक्तानी गरेको हो ।
त्यसैगरी आश्रित परिवार सुरक्षा योजनामा १४ करोड ३७ लाख ७८ हजार ६९८ रुपियाँ रुपैयाँ दनबी भुक्तानी गरेको छ । कोषले उक्त योजना अन्तर्गत ४९६ जनालाई उक्त रकम भुत्तानी गरेको हो ।
यस्तै कोषले वृद्धावस्था सुरक्षा योजनामा सात अर्ब ७५ करोड २५ लाख ७३ हजार ८३५ रुपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ । वृद्धावस्था सुरक्षा योजनामा ७७ हजार ८८२ जनालाई भुत्तानी गरिएको हो ।
चार वर्षमा ५५ अर्ब जम्मा
२०७६ साउन १ गतेबाट औपचारिक रूपमा सञ्चालनमा आएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा हालसम्म योगदानकर्ता र रोजगारदाताबाट ५५ अर्ब तीन करोड रुपैयाँ योगदानबापतको रकम जम्मा भएको हो ।
जसमध्ये सबैभन्दा धेरै रकम वृद्धावस्था सुरक्षा योजनामा जम्मा भएको छ । वृद्धावस्था सुरक्षा योजनामामा हालसम्म ४६ अर्ब २२ करोड ४६ लाख ७ हजार रुपैयाँ जम्मा भएको छ । यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवारसुरक्षा योजनामा ३ अर्ब ३० करोड ३४ लाख ८३ हजार रुपैयाँ जम्मा भएको छ भने अत्तिरिक्त योगदानमा ९७ करोड १ लाख १२ हजार रुपैयाँ जम्मा भएको छ । कोषमा हालसम्म १८ हजार ९६२ रोजगारदाता र १३ लाख ६८ हजार ५९१ जना योगदानकर्ता आबद्ध भएका छन् ।


