क्वालालम्पुर। मलेसियामा भिजिट भिसामा नेपालीहरूलाई काममा ल्याउने दलालहरू सक्रिय हुँदै गएको र यसले थुप्रै समस्या निम्त्याएको पाइएको छ। यसै क्रममा मलेसियाको अध्यागमन विभागले एक विशेष कारबाही अभियान चलाएर २३ जना एजेन्टलाई पक्राउ गरेको छ, जसमा नेपाली एजेन्ट मनोज चिनाल पनि समावेश थिए।
मलेसियामा पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग गरेर “छोटो समयमै विदेश पुग्ने” र “उत्कृष्ट पारिश्रमिक”को प्रलोभन देखाई नेपाली युवाहरूलाई भिजिट भिसामा मलेसिया भित्र्याउने क्रम बढ्दै गएको छ। यीमध्ये अधिकांश नेपाली तेस्रो मुलुक, विशेषगरी थाइल्यान्ड हुँदै मलेसिया प्रवेश गरिरहेका छन्। यसरी अवैधानिक रूपमा काम गर्ने नेपालीहरूको संख्या बढ्दा मलेसियाको सुरक्षा र सामाजिक संरचनामाथि चुनौती थपिएको छ।
पक्राउ र छुटाउने घटना
जनसवाल दैनिक लगायतका सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि मलेसियाली प्रहरीले अनलाइनबाट सेटिङ मिलाई नेपालीलाई मलेसिया पुर्याउने काममा संलग्न २३ जनालाई पक्राउ गरेको थियो। उनीहरूको साथबाट १७ हजार ६ सय अमेरिकी डलर पनि बरामद भएको प्रहरीले जनाएको छ। तर, एजेन्टहरूको समूहले ९० हजार रिङ्गिट खर्च गरेर मुख्य एजेन्ट मनोज चिनाललाई प्रहरी हिरासतबाट छुटाउन सफल भएको छ। यद्यपि, अन्य २३ जना एजेन्टहरू भने अहिले पनि हिरासतमा नै रहेका छन्।
नेपाली श्रमिकमाथि नकारात्मक असर
भिजिट भिसामा मलेसिया आएका धेरै नेपालीहरूले कानुनी झन्झट भोग्नु परेको छ भने कतिपय स्वदेश फर्किसकेका छन्। विशेषगरी महिलाहरू रेस्टुरेन्ट र घरेलु कामदारका रूपमा काम गर्दै ‘ओभरस्टे’ गरी अवैध रूपमा बसोबास गरिरहेको पाइएको छ। मलेसियाली सरकारले यस्ता विदेशी नागरिकहरूलाई पक्राउ गरी जरिवाना, जेल सजाय र देशनिकाला (डिपोर्ट) गर्ने अभियानलाई तीव्रता दिएको छ।
दूतावासको भूमिका र चुनौती
मलेसियास्थित नेपाली दूतावासले वैधानिक प्रक्रिया अपनाएर मात्र विदेश जान सचेतना फैलाइरहेको दाबी गरे पनि भिजिट भिसामा आउने क्रम रोकिएको छैन। दूतावासले भिजिट भिसामा काम गर्न नपाइने र यो गैरकानुनी भएको भन्दै सबै सरोकारवालाहरूलाई सचेतना अभियानमा सहयोग गर्न आग्रह गरेको छ।
विश्लेषकहरूका अनुसार, भिजिट भिसाको दुरुपयोग र अवैधानिक रूपमा काम गर्ने नेपालीका कारण नेपाली श्रमिकहरूको अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर पर्न सक्छ। यसले गर्दा भविष्यमा अन्य देशहरूले पनि नेपाली श्रमिक लिनका लागि कडा नीति अपनाउन सक्ने खतरा बढेको छ। यस विषयमा नेपाल सरकार र दूतावासले तत्काल कदम चाल्नुपर्ने मलेसियामा रहेका नेपाली संघसंस्थाका प्रतिनिधिहरूले बताएका छन्।


