रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०२५ का लागि दक्षिण कोरिया जान १ लाख ३ हजारभन्दा बढी नेपाली युवाले आवेदन दिएका छन्। दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले ५ हजार ३ सय जनाका लागि आवेदन माग गरेकोमा यो सङ्ख्यामा आवेदन परेको हो। ईपीएस शाखाले कोरियन भाषा परीक्षाका लागि गएको साउन २६ गतेदेखि ३१ गतेसम्म आवेदन खुला गरेको थियो। कोरियाले तोकेको कुल कोटा ५ हजार ३ सयमध्ये उत्पादनमूलक क्षेत्रतर्फ ३ हजार ५ सय र कृषि तथा पशुपालन क्षेत्रतर्फ १ हजार ८ सय जनाको माग रहेको छ।
मेनपावर कम्पनीबाट पनि कोरिया जान बाटो खुल्यो
भाषा र सीप भएका नेपाली श्रमिकका लागि ईपीएस बाहेक अब मेनपावर कम्पनीमार्फत पनि दक्षिण कोरिया जाने बाटो खुलेको छ। श्रम मन्त्रालयले ‘गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि २०८०’ संशोधन गरेर ई-७ भिसामा नेपाली कामदार पठाउन पाउने व्यवस्था गरेको हो। यसअन्तर्गत, मेनपावर कम्पनीहरूले कोरियाका कम्पनीहरूसँग बीटुबी (बिजनेस टु बिजनेस) सम्झौता गरेर सीपयुक्त श्रमिक पठाउन सक्नेछन्। ईपीएस भने जीटुजी (सरकार-सरकार) प्रणालीमार्फत सञ्चालन हुँदै आएको छ।
ई-७ भिसाका लागि चाहिने सीपहरू
ई-७ भिसामा जानका लागि विभिन्न सीप र योग्यता भएका व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ। यो भिसामा व्यवस्थापक, विज्ञ, इन्जिनियर, नर्स, प्राध्यापक, अनुवादक, हलाल मासु काट्ने, चिडियाखाना व्यवस्थापक, जहाज मेकानिक, कृषि प्राविधिक, र निर्माण क्षेत्रका कामदारहरू जान सक्नेछन्। श्रम मन्त्रालयले ई-७ भिसामा पठाउनका लागि सयभन्दा बढी कामहरूको सूची बनाएको छ। यसमा रोजगारदाता कम्पनीले माग गरेको अवस्थामा श्रमिक आफैले पनि लागत तिर्नुपर्ने हुन सक्छ, जुन ईपीएसको तुलनामा महँगो पर्न जाने बताइएको छ। ई-७ भिसामा गएका श्रमिकहरूले मासिक ४-५ लाख रुपैयाँसम्म कमाउन सक्ने अनुमान गरिएको छ। श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेका अनुसार ई-७ भिसाको माग ईपीएसको कोटासँग नजुधोस् भनेर ध्यान दिइएको छ। कोरियामा रहेको नेपाली दूतावासले मागपत्र प्रमाणीकरण गर्दा यस विषयमा विशेष ध्यान दिनेछ। हाल १ लाख १७ हजारभन्दा बढी नेपाली ईपीएसमार्फत कोरियामा कार्यरत छन्।
ईपीएस (E-9) र ई-७ भिसाबीच के फरक छ ?
भिषाको प्रकार: ईपीएसमा कामदारहरू ई-९ भिसामा जान्छन्, जबकि मेनपावरबाट जानेहरू ई-७ भिसामा जान्छन्।
प्रणाली: ईपीएस जीटुजी (सरकार-सरकार) प्रणालीमा आधारित छ, जसले गर्दा यसमा कम लागत लाग्छ र पारदर्शिता बढी हुन्छ। ई-७ भिसा भने बीटुबी (बिजनेस टु बिजनेस) प्रणालीमा आधारित हुन्छ, जहाँ मेनपावर कम्पनीहरूले रोजगारदाता कम्पनीसँग सीधा सम्झौता गर्छन्।
योग्यता: ईपीएसका लागि भाषा परीक्षा पास गरे पुग्छ। तर, ई-७ भिसाका लागि भने भाषासँगै विशेष सीप र दक्षता आवश्यक हुन्छ।
म्याद: ई-७ भिसाको सुरुको अवधि १ वर्षको हुन्छ र यसलाई प्रत्येक वर्ष नवीकरण गरेर ५ वर्षसम्म बस्न पाइन्छ। ईपीएस भिसाको पनि निश्चित अवधि तोकिएको हुन्छ।


