Banijya News

चाडपर्वमा १११ वटा सुपथ मूल्य पसल सञ्चालन गरिने

1
1.1K Shares

चाडपर्वमा उपभोक्ताले खाद्यान्नको अभाव र मूल्यवृद्धिको समस्या भोग्नु नपर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दाबी गरेको छ । दसैँ, तिहार र छठलाई लक्षित गर्दै कम्पनीले देशभरका ४५ जिल्लामा १११ वटा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । कम्पनीका अनुसार, हाल १ लाख ८६ हजार ५०८ क्विन्टल चामल र करिब ९ हजार क्विन्टल चिनी मौज्दातमा रहेको छ, जुन चाडपर्वको माग धान्न पर्याप्त हुनेछ । साल्ट ट्रेडिङ कर्पोरेसनसँग पनि करिब १६ हजार क्विन्टल चिनी मौज्दात रहेकाले बजारमा चिनीको अभाव नहुने विश्वास गरिएको छ ।

सुपथ मूल्य पसलबाट उपभोक्तालाई राहत
कम्पनीले चाडपर्वमा उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसलहरू सञ्चालन गर्ने योजना बनाएको छ । गत वर्ष ४२ जिल्लाका ६३ स्थानमा मात्र यस्ता पसल सञ्चालन गरिएकोमा यस वर्ष थप ४८ स्थानमा पसल विस्तार गरिनेछ । यी पसलहरूमा दुर्गम क्षेत्रलाई विशेष प्राथमिकता दिइनेछ । कम्पनीले असार मसान्तभित्रै डोल्पा, जुम्ला, मुगु, हुम्ला र बाजुरालगायतका दुर्गम जिल्लाका डिपोहरूमा खाद्यान्न पु¥याइसकेको जनाएको छ ।

कम्पनीले मन्त्रालयमा पठाएको प्रस्तावअनुसार, सुपथ मूल्य पसलहरूमा विभिन्न खाद्यान्नमा छुट दिइनेछ । सबै प्रकारका चामल र चिनीमा प्रतिकिलो ५ रुपैयाँ, दालमा ५ रुपैयाँ, तेलमा ७ रुपैयाँ, मसलाजन्य वस्तुमा १० रुपैयाँ र कर्णालीका रैथाने उत्पादन (सिमी, फापर, चिनो, कागुनो) मा प्रतिकिलो १० रुपैयाँ छुट दिने प्रस्ताव गरिएको छ। यसका साथै, खसी, बोका र च्याङ्ग्रामा जिउँदो प्रतिकिलो १० रुपैयाँ छुट दिइनेछ । पछिल्ला दिनमा दाल र तेलबाहेक अन्य खाद्यान्नको मूल्य स्थिर छ । चीनसँग जोडिएका नाकाहरू बन्द हुँदा कपडा, फलफूल र केही ड्राई फ्रुटको मूल्य भने बढ्ने देखिन्छ ।

1

Scroll to Top