नेपाल शिक्षक महासङ्घले आफ्ना मागहरू सम्बोधन नभएको भन्दै थप आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासङ्घले अबको आन्दोलन विगतको भन्दा कडा र दबाबपूर्ण हुने चेतावनी दिएको हो। महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिएअनुसार, उनीहरूले आफ्ना आन्दोलनका कार्यक्रमहरूलाई चरणबद्ध रूपमा अगाडि बढाउनेछन्।
अध्यक्ष सुवेदीले सरकारसँग भएको २७ बुँदे सहमति नै आफ्ना मागको आधार भएको र सो अनुसार सरकारले माग पूरा नगरेको दाबी गरे। शिक्षा विधेयक संसदीय समितिबाट पारित भएपछि महासङ्घले विधेयकप्रति असन्तुष्टि जनाउँदै यी आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको हो। भदौ २१ गते थप कडा आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने तयारी भइरहेको पनि उनले बताए।
आन्दोलनका घोषित कार्यक्रमहरू
भदौ ९ गते: प्रधानमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, र राजनीतिक दलका प्रमुख सचेतकहरूलाई ध्यानाकर्षण पत्र बुझाइने।
भदौ ११ देखि २० गतेसम्म: केन्द्रमा रहेका सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउने र सोही स्थानमा २ घण्टासम्म प्रतिनिधिमूलक धर्ना दिने।
भदौ १३ गते: देशभरका सबै पालिकामा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिने।
भदौ १५ गते: सबै जिल्लाका समन्वय एकाइहरूमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिने।


