Banijya News

को हुन् रुपन्देहीमा रास्वपाले उम्मेदवार बनाएका लेखजंग थापा ?

1
1.1K Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। आइतबार पार्टीको सचिवालय बैठकले ९ जना आकांक्षीहरूमध्येबाट उहाँलाई छनोट गरेको हो। मुलुकलाई सुशासनसहितको सामाजिक न्याय, विकास र समृद्धिको बाटोमा लैजाने अठोटका साथ उनी राजनीतिमा होमिएका हुन् । थापा गत निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्य पदमा समानुपातिक उम्मेदवार थिए । 

डा. लेखजंग थापाको परिचय

डा. थापा एक न्यूरोलोजिस्ट हुन्। रुपन्देहीको अञ्चलापुरमा जन्मेका उनी तीन वर्षअघि मात्र राजनीतिमा प्रवेश गरेका थिए। उनी नेपाली न्यूरो साइन्सको विकास र बिरामीहरूको उपचारमा १६ वर्षभन्दा बढी समयदेखि सक्रिय छन्। पोखराको मणिपाल कलेजबाट एमबीबीएस, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमडी र चितवनको कलेज अफ मेडिकल साइन्सेजबाट डीएम न्यूरोलोजीको अध्ययन गरेका डा. थापाले अमेरिकाको हार्वार्ड विश्वविद्यालयबाट ‘सेफ्टी क्वालिटी लिडरसिप एन्ड इन्फमेटिभ’ मा स्नातक पनि गरेका छन्।

अनुसन्धान र योगदान

डा. थापा एक विद्वान चिकित्सकका साथै अनुसन्धानकर्मी पनि हुन्। उनका ८० भन्दा बढी अनुसन्धानात्मक लेखहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन्।

नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष रहेका उहाँले स्ट्रोकको उपचार र सचेतनाका लागि महत्वपूर्ण योगदान पुर्‍याएका छन्। उहाँकै पहलमा तयार पारिएको राष्ट्रिय स्ट्रोक उपचार व्यवस्थापन प्रोटोकललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत स्वीकृत गरेको छ। उहाँले ‘स्ट्रोक मास्टर क्लास’ मार्फत हजारौँ चिकित्सक र स्वास्थ्यकर्मीलाई स्ट्रोकको पहिचान र उपचारसम्बन्धी तालिम पनि दिँदै आएका छन्।

२०७९ को आमनिर्वाचनमा रास्वपाले यस क्षेत्रमा समानुपातिकतर्फ १४ हजार मत ल्याएर तेस्रो स्थान हासिल गरेको थियो । प्रत्यक्षतर्फ भने राप्रपा र एमालेको तालमेलबाट राप्रपाका दीपक बोहरा विजयी भएका थिए । उनले नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गरेका थिए । करिब डेढ लाख मतदाता रहेको यस क्षेत्रमा समानुपातिक र स्थानीय तहको मतको आधारमा कांग्रेस पहिलो शक्ति देखिन्छ भने रास्वपाको उदयले प्रतिस्पर्धा थप त्रिपक्षीय बन्ने अनुमान छ ।

1

Scroll to Top