नेपालमा भएको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले मुलुकभरका दुई दर्जनभन्दा बढी होटलमा २५ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको होटल संघ नेपाल (हान)ले जनाएको छ। प्रारम्भिक अनुमानअनुसार, यसले २ हजारभन्दा बढी कामदारको रोजिरोटीमा समेत प्रत्यक्ष असर पु¥याएको छ ।
हानले घटनाको यथाशीघ्र जाँचबुझ गर्न र दोषीमाथि कारबाही गर्न एक शक्तिशाली न्यायिक समिति गठन गर्न सरकारसँग माग गरेको छ। साथै, क्षतिग्रस्त होटलहरुको पुनर्निर्माण र मर्मतका लागि राज्यबाट विशेष आर्थिक प्याकेज उपलब्ध गराएर लगानीकर्ताको मनोबल उकास्न पनि आग्रह गरेको छ ।
संघले सुशासन, विकास र जनताको परिवर्तनको चाहनालाई समर्थन गर्दै, आन्दोलन सफल बनाउन जीवन बलिदान गर्ने र घाइते हुने युवाहरुको त्यागको सम्मान गरेको छ। तर, यस प्रकारको हिंसात्मक गतिविधिले निजी क्षेत्रको लगानी र सम्पत्तिमा भएको क्षतिलाई पीडादायी भन्दै यसबाट आर्थिक स्थायित्व र समृद्धिमा बाधा पुग्ने चिन्ता व्यक्त गरेको छ। हानले पर्यटन विकासको कार्यमा सरकारसँगै मिलेर अघि बढ्न तयार रहेको प्रतिबद्धता पनि जनाएको छ ।
हानले जारी गरेको विज्ञप्तिअनुसार, काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी र दाङ लगायतका क्षेत्रमा रहेका स्वदेशी तथा विदेशी ब्रान्डका होटलहरुमा तोडफोड, आगजनी र लुटपाट भएको हो। यस घटनाबाट ठूलो लगानीमा सञ्चालित निजी क्षेत्रका सम्पत्तिमा क्षति पुगेको छ।
क्षतिग्रस्त होटलहरु मर्मत तथा पुनर्निर्माण नगरी सञ्चालनमा आउन नसक्ने भएकाले करिब २ हजारभन्दा बढी कामदार कर्मचारीले रोजिरोटी गुमाउने जोखिममा छन्। चाडपर्वको मुखैमा भएको यो घटनाले उनीहरुको जीवनयापनमा गम्भीर असर पर्ने देखिएको छ। यसबाहेक, होटलहरुले बैंक तथा वित्तीय संस्थाको ऋणसहित अन्य आर्थिक दायित्व नियमित रूपमा तिर्न नसक्ने अवस्था आएको छ।


