तिहार पर्वमा विद्युतको माग घट्ने अनुमान नेपाल विद्युत प्राधिकरणले गरेको छ। तिहारको समयमा खासगरी औद्योगिक क्षेत्रहरू बन्द हुने भएकाले समग्र विद्युत माग घट्ने प्राधिकरणले जनाएको हो। प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालकाअनुसार पछिल्ला केही वर्षयता तिहारका बेला विद्युत् खपतमा घट्ने प्रवृत्ति देखिएको छ। पहिलेका वर्षहरूमा घरायसी प्रयोग बढ्ने हुँदा खपत पनि बढ्थ्यो, तर अहिले उद्योग, होटल, रेस्टुरेण्ट र अन्य व्यावसायिक क्षेत्रहरू पर्वका बेला बन्द हुने भएकाले समग्र माग घट्ने अनुमान प्राधिकरणको छ।
कार्यकारी निर्देशक सिलवालले पहिलेको तुलनामा अहिले तिहारमा डिमान्ड घट्ने गरेको बताउँदै यसको मुख्य कारण ठूला उद्योगहरू बन्द हुनु रहेको स्पष्ट पारेका छन्। उनका अनुसार पहिला उद्योगको खपत कम र घरायसी खपत बढी हुँदा तिहारमा खपत बढी देखिन्थ्यो, तर अहिले उद्योगहरू नचल्दा समग्र खपत कम हुने अवस्था छ।
माग घटे पनि प्राधिकरण विद्युत आपूर्ति व्यवस्थापनमा भने पूर्ण रूपमा तयार रहेको छ। सिलवालकाअनुसार अहिले विद्युत प्रणाली पहिलेको जस्तो कमजोर छैन र तिहारका समयमा मागअनुसार पर्याप्त विद्युत उपलब्ध गराउन सकिने अवस्था रहेको छ। तिहार र छठजस्ता ठूला पर्वलाई लक्षित गर्दै नियमित विद्युत आपूर्तिका लागि प्राधिकरणले आफ्ना कर्मचारीहरूलाई पूर्ण रूपमा खटाउने तथा वितरण लाइन, सबस्टेशन र मर्मत कार्यहरूमा आवश्यक पूर्वतयारी अघि बढाइसकेको जानकारी पनि उनले दिएका छन्। प्राधिकरणले पर्वका समयमा कुनै किसिमको विद्युत अभाव नहुने विश्वास व्यक्त गरेको छ।


