अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्यमा २० देखि २५ प्रतिशतले वृद्धि भएपछि नेपाली बजारमा पनि मलको मूल्य समायोजन हुने भएको छ। शुक्रबार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा भएको छलफलमा कृषि मन्त्रालयका सचिव गोविन्द शर्माले अर्थमन्त्री रामेश्वर खनाललाई मूल्य समायोजनको विषयमा जानकारी गराएका थिए। प्रत्युत्तरमा अर्थमन्त्री खनालले मन्त्रालयस्तरबाटै मूल्य समायोजन गर्न कृषि मन्त्रालयलाई निर्देशन दिएका छन्। साथै, उनले उखुको अनुदान र बाढीबाट भएको क्षतिको टुङ्गो लगाउन पनि निर्देशन दिएका छन्।
चालु आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारले रासायनिक मल आयातमा २८ अर्ब ८२ करोड रुपैयाँ बजेट विनियोजन गर्दै ६ लाख मेट्रिक टन मल आयात गर्ने लक्ष्य राखेको थियो। तर, अन्तर्राष्ट्रिय बजारमा मूल्य अत्याधिक बढेका कारण विनियोजित बजेटले लक्ष्य अनुसारको परिमाणमा मल खरिद गर्न नसकिने कृषि मन्त्रालयले जनाएको छ।
कृषि मन्त्रालयका सुचना अधिकारी महानन्द जोशीका अनुसार, चालु आवको लक्ष्य पूरा गर्नका लागि थप १० अर्ब रुपैयाँ बजेट आवश्यक भएको भन्दै अर्थ मन्त्रालयमा पत्राचार गरिएको छ र थप बजेटका लागि छलफल जारी छ। यद्यपि, हालको लागि मल अभाव हुने अवस्था भने नरहेको मन्त्रालयको दाबी छ। हालसम्म २ लाख ३७ हजार ६१९ मेट्रिक टन मल आयात भइसकेको छ र १ लाख ५ हजार २५९ मेट्रिक टन मल मौज्दात रहेको छ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि किसानले अनुदानमा मल प्राप्त गर्ने हुँदा महँगी खेप्नु नपर्ने मन्त्रालयले स्पष्ट पारेको छ। कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार, अहिले नेपाली बजारमा प्रतिकेजी युरिया १५ रुपैयाँ, पोटास ३२ रुपैयाँ र डिएपी ४४ रुपैयाँमा बिक्री भइरहेको छ।
सरकारले प्रत्येक वर्ष अर्बौं रुपैयाँ अनुदानित मल खरिदमा छुट्याए पनि धेरै किसानले मलको अभाव झेलिरहेका छन्। उनीहरूले मल पर्याप्त भए पनि वास्तविक किसानसम्म नपुग्ने गुनासो गरेका छन् र सरकारले धान रोप्ने समयमा नभई ढिलो गरी मल वितरण गर्ने गरेकोमा आक्रोश व्यक्त गरेका छन्।
उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रक्रियागत र वितरण प्रणालीको कमजोरी लाई मल अभावको मुख्य कारण बताएका छन्। उनले मल वितरणको प्रक्रियामा (संघीय सरकारबाट प्रदेश हुँदै पालिका र सहकारीमार्फत) बिचौलिया हाबी हुने गरेको र वास्तविक किसानको सट्टा पार्टीका कार्यकर्ता र कागजी किसानको हातमा मल पुग्ने गरेको दाबी गरेका छन्।
यता, कृषि सामग्री कम्पनीका प्रबन्ध संचालक विष्णु प्रसाद पोखरेलले भने ग्लोबल टेन्डर आह्वानदेखि मल नेपाल आइपुग्न करिब सात महिना लाग्ने भएकाले समय लाग्ने गरेको बताएका छन्।


