बंगलादेशको अदालतले पूर्व प्रधानमन्त्री शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमाललाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ ।
ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले सन् २०२४ को अगस्टमा भएको विद्यार्थी आन्दोलनका क्रममा भएको हत्या र दमनको मुख्य योजनाकारका रूपमा उनीहरूलाई दोषी ठहर गरेको हो।
जनआन्दोलनपछि सत्ताच्युत भएकी हसिना विगत १५ महिनादेखि भारतमा शरण लिइरहेकी छिन् र उनको अनुपस्थितिमा नै यो फैसला सुनाइएको हो। फैसला सार्वजनिक भएसँगै बंगलादेशमा हिंसा भड्किएको छ र सरकारले देशभर उच्च सतर्कता अपनाएको छ ।
अदालतको निर्णयपछि हुनसक्ने हिंसात्मक प्रदर्शनलाई रोक्न राजधानी ढाकामा १५,००० सुरक्षाकर्मी परिचालन गरिएको छ । ढाका महानगरीय प्रहरीले हिंसात्मक प्रदर्शनकारीलाई देख्नेबित्तिकै गोली चलाउन आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
शनिबार र आइतबार गरी ढाकामा कम्तीमा दुईवटा बसमा आगजनी गरिएको थियो। न्यायाधिकरणले हसिना र कमाललाई हत्याको आदेश दिएको र त्यसका लागि उक्साएकोमा दोषी ठहर गर्दै बंगलादेशमा रहेको उनीहरूको सम्पूर्ण सम्पत्ति जफत गर्न पनि आदेश दिएको छ ।


