Banijya News

राष्ट्र बैंकले ५० अर्ब निक्षेप तान्दै, किन तान्छ निक्षेप ?

1
1.1K Shares

नेपाल राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप तान्दै छ । निरन्तर अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो । अहिले कुल निक्षेप ७४ खर्ब भन्दा बढी पुगेको छ ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप सङ्कलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता तान्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप सङ्कलन रकम बाँडफाँट गर्दा काउन्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।

निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप सङ्कलन उपकरणको सावाँ तथा ब्याज २०८३ माघ १८ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।

खासगरी केन्द्रीय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप सङ्कलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रीय बैंकले पटकपटक निक्षेप सङ्कलन उकरण प्रयोग गर्दै आएको छ ।

राष्ट्र बैंकले निक्षेप तान्नुका प्रमुख उद्देश्य र कारणहरू निम्न छन्:

१. अधिक तरलता प्रशोचन जब बैंकिङ प्रणालीमा लगानी गर्न सकिने रकम (तरलता) अत्यधिक हुन्छ, तब राष्ट्र बैंकले ‘निक्षेप संकलन उपकरण’ (Deposit Collection Instrument) वा ‘स्थायी निक्षेप सुविधा’ (Standing Deposit Facility – SDF) जस्ता उपकरणहरू प्रयोग गरी बैंकहरूबाट निक्षेप तान्छ। * यो तरलतालाई खिचेर बजारमा मुद्रा आपूर्ति सन्तुलनमा ल्याउन मद्दत गर्छ।

२. ब्याजदर व्यवस्थापन : बजारमा धेरै तरलता भएमा अन्तरबैंक ब्याजदर (Interbank Interest Rate) घट्न सक्छ। यसलाई नियन्त्रणमा राखी ब्याजदरलाई आफ्नो नीतिगत दर (Policy Rate) को नजिक राख्न सहयोग पुग्छ।

३. मूल्य स्थिरता कायम राख्न :अत्यधिक तरलताले गर्दा बजारमा ऋण प्रवाह बढेर मुद्रास्फीति (Inflation) बढ्न सक्ने जोखिम हुन्छ। तरलता खिचेर राष्ट्र बैंकले मूल्य स्थिरता कायम राख्न अप्रत्यक्ष रूपमा सहयोग गर्छ।

४. मौद्रिक नीतिको प्रभावकारिता : अधिक तरलता कायम रहेमा राष्ट्र बैंकको मौद्रिक नीतिले अपेक्षित काम गर्न सक्दैन। त्यसैले, नीतिगत उपकरणहरूको प्रभावकारिता बढाउन तरलता व्यवस्थापन आवश्यक हुन्छ।
कसरी तान्छ निक्षेप ?
राष्ट्र बैंकले मुख्यतया बोलकबोल (Auction) मार्फत बैंक तथा वित्तीय संस्थाबाट निक्षेप संकलन गर्दछ। यसमा राष्ट्र बैंकले आह्वान गरेको निश्चित अवधिका लागि बैंकहरूले ब्याजदरसहितको बोलपत्र पेश गर्छन्। सामान्यतया, कम ब्याजदरमा निक्षेप दिने संस्थाहरूलाई प्राथमिकता दिइन्छ।

नेपाल राष्ट्र बैंकले निक्षेप तान्नु भनेको बजारमा अनावश्यक रूपमा जम्मा भएको पैसा (तरलता) लाई खिचेर वित्तीय प्रणाली र अर्थतन्त्रलाई सन्तुलनमा राख्ने एउटा महत्त्वपूर्ण मौद्रिक नीति उपकरण हो।

1

Scroll to Top