Banijya News

खाद्यले बजार मूल्यभन्दा ११ सय रुपैयाँ बढी मूल्य तिरेर किन्यो धान

1
1.2K Shares

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हालै बजार भाउभन्दा प्रतिक्विन्टल झण्डै ९ सयदेखि ११ सय रुपैयाँसम्म बढी मूल्य तिरेर किसानबाट धान खरिद गरिरहेको छ। सरकारले चालु आर्थिक वर्षका लागि मोटा धानको समर्थन मूल्य रु. ३,४६३ र मध्यम धानको रु. ३,६२८ प्रतिक्विन्टल निर्धारण गरेको छ। अहिले बजारमा सो मूल्यभन्दा कममा धान खरिदबिक्री भइरहेकोले खाद्यले सरकारी मूल्यमा खरिद गर्दा किसानहरुको आकर्षण बढेको छ। यही कारणले खाद्यका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यका अनुसार कम्पनीलाई बजार मूल्यभन्दा महँगो परे पनि किसानको धान खरिद केन्द्रमा भीड लागेको छ। गत कात्तिक ११ देखि सुरु भएको खरिद कार्यक्रम अन्तर्गत मंसिर ११ सम्म कम्पनीले २७ हजार ६ सय १८ क्विन्टल धान खरिद गरिसकेको छ।

खाद्यले बढी मूल्यमा धान खरिद गर्दा किसान उत्साहित भए पनि कम्पनीका लागि भने ठूलो चुनौती सिर्जना भएको छ। खाद्यले यस वर्ष १ लाख ९० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्यका साथ ७० करोड रुपैयाँ बजेट छुट्याएको छ, जुन गत वर्षको भन्दा कम हो। बजेट र गोदाम क्षमताको कमीका कारण कम्पनीले किसानले चाहेअनुसार सबै धान खरिद गर्न नसक्ने अवस्था छ। यसले गर्दा किसानको अपेक्षा र कम्पनीको सामथ्र्यबीच तालमेल नमिल्ने देखिएको छ। आचार्यका अनुसार हाल महँगोमा किनिएको धानबाट पछि चामल बनाएर बेच्दा खाद्यलाई सस्तोमा चामल बिक्री गर्न समस्या पर्नेछ किनभने निजी व्यापारीले सस्तोमा धान किनेर कम मूल्यमै चामल उपलब्ध गराउन सक्छन्।

यस वर्ष किसानलाई विचौलियाको संलग्नताबाट बचाउन कम्पनीले स्थानीय तहको सिफारिसमा वास्तविक किसानको बैंक खातामा सोझै रकम जम्मा गर्ने नयाँ व्यवस्था गरेको छ। यो वर्षको अवस्था गत वर्षको भन्दा ठिक उल्टो छ; गत आर्थिक वर्षमा व्यापारीले सरकारी समर्थन मूल्यभन्दा बढी मूल्यमा धान खरिद गरेकाले कम्पनीले लक्ष्यको आधा पनि धान खरिद गर्न सकेको थिएन। गत वर्ष कम्पनीले ७ लाख ३ हजार क्विन्टल धान खरिदको लक्ष्य राखेकामा जम्मा १ लाख २० हजार क्विन्टल मात्र खरिद गर्न सकेको थियो। यस वर्ष बजार मूल्यभन्दा उच्च दरमा धान खरिद गरिए पनि बजेट सीमित भएकाले कम्पनीले थप खरिद गर्न सरकारबाट बजेट सहयोगको अपेक्षा गरेको छ।

1

Scroll to Top