Banijya News

के थियो ‘खजुरीको पफ’मा अखाद्य बस्तु, किन बजारबाट फिर्ता लिन विभागले दियो निर्देशन ?

1
1.2K Shares

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘खजुरीको नेपाल प्रालिले उत्पादन गरेको ‘पफ’ तत्काल बजारबाट फिर्ता लिन निर्देशन दिएको छ। विभागले गरेको बजार अनुगमन र त्यसपछि प्रयोगशालामा गरिएको परीक्षणमा उक्त उत्पादन मानव स्वास्थ्यका लागि हानिकारक हुने प्रमाणित भएपछि यो निर्णय आएको हो।

विभागले बजारबाट संकलन गरेको ‘पफ’को नमुना प्रयोगशालामा परीक्षण गर्दा त्यसभित्र मानव स्वास्थ्यका लागि हानिकारक मानिने ‘औद्योगिक ट्रान्स फ्याट’ को मात्रा तोकिएको अधिकतम सीमाभन्दा बढी पाइएको थियो। यही नतिजाको आधारमा विभागले उक्त उत्पादनलाई तत्काल बजारबाट हटाउन उत्पादक कम्पनीलाई कडा निर्देशन दिएको हो।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ ले खाद्य पदार्थमा ट्रान्स फ्याटको मात्रा २ प्रतिशतभन्दा बढी हुन नहुने स्पष्ट व्यवस्था गरेको छ। तर, परीक्षणका क्रममा खजुरीको ‘पफ’ मा उक्त मात्रा २ प्रतिशतभन्दा बढी भेटिएपछि विभागले उद्योगले तोकिएको मापदण्ड पूरा नगरेको ठहर गरेको छ।

कानूनमा तोकिएको सीमाभन्दा बढी औद्योगिक ट्रान्स फ्याट भेटिएको कारण विभागले खजुरीको पफलाई ‘न्यूनस्तरको खाद्य पदार्थ’ ठहर गरेको छ। औद्योगिक ट्रान्स फ्याटको अधिक मात्राले मुटुसम्बन्धी रोगहरूको जोखिम बढाउने भएकाले यसलाई मानव स्वास्थ्यका लागि जोखिमपूर्ण मानिन्छ।

विभागले विशेषगरी ललितपुरको गोदावरी–१० स्थित खजुरीको उद्योगबाट उत्पादित ब्याच नम्बर बी १ थ्री ए र ब्याच नम्बर बी १ फाइभ ए का पफहरूलाई लक्षित गरी फिर्ता लैजान निर्देशन दिएको छ। विभागले ती ब्याचका उत्पादन तत्काल बजारबाट हटाउन उत्पादक कम्पनीलाई अनिवार्य गरेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा ३८ (२) र (४) को प्रावधान अनुसार उक्त ब्याचका उत्पादनहरू बजारबाट तुरुन्त फिर्ता गरी थप बिक्री वितरणको कार्य नगर्न र नगराउन पनि खजुरीको नेपाल प्रालिलाई निर्देशन दिएको छ।

1

Scroll to Top