Banijya News

घट्यो पेट्रोल र डिजेलको मूल्य, लिटरको कति पर्छ ?

1
1.1K Shares

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरि मूल्य घटेको हो । जस अनुसार पेट्रोलमा प्रतिलिटर ४, डिजेल/मट्टितेलमा ५ र हवाई इन्धनमा ६ रूपैयाँ घटाइएको छ । यसैगरी खाना पकाउने ग्याँस (एलपी ग्याँस)को मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट आज बुधबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा रू. ४।१९ ले, डिजेलमा रू. ५।०६ ले, र हवाई इन्धनमा प्रतिलिटर रू. ८।१५ ले घटेर आएको निगमले जनाएको छ । तर, एलपी ग्याँसमा भने प्रतिसिलिण्डर रू. १००। ३५ ले बढेर आएको निगमको भनाइ छ ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ । पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेका छन् । दोस्रो वर्गमा सुर्खेत र दाङलाई राखिएको छ भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दीपायल रहेका छन् ।

आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन । आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र–पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ । आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ । लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ ।

त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ । यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ । यो प्रक्रियामा पेट्रोलियमको मूल्य तय हुने सबभन्दा ठूलो आधार भनेकै आइओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको दाम हो ।

1

Scroll to Top