नेपाली बजारमा पछिल्लो समय खानेतेलको मूल्य उल्लेख्य रूपमा बढेको छ । भटमास र सूर्यमुखी (सनफ्लावर) तेलको मूल्य प्रतिलिटर करिब ४० देखि ५० रुपैयाँसम्म वृद्धि भएको छ भने तोरीको तेल पनि उच्च मूल्यमा बिक्री भइरहेको छ । दैनिक उपभोग्य वस्तु भएकाले खानेतेलको मूल्यवृद्धिले प्रत्यक्ष रूपमा आम उपभोक्ताको भान्सामा असर पारेको छ । खानेतेलको मूल्य बढ्दा सबैभन्दा बढी असर मध्यम र न्यून आय भएका परिवारलाई पर्छ। मासिक बजेट सीमित हुने परिवारले खर्च कटौती गर्नुपर्ने बाध्यता आउँछ। कतिपयले तेलको प्रयोग घटाउने, सस्तो ब्रान्ड रोज्ने वा परिकारमा परिवर्तन गर्ने जस्ता उपाय अपनाउन थालेका छन् । यसले पोषणमा समेत असर पार्न सक्ने सम्भावना हुन्छ ।
भक्तपुरका उपभोक्ता शुभराम प्रजापतिले एक साताअघि २ सय ४५ रुपैयाँमा किनेको सनफ्लावर तेलका लागि पुनः २ सय ९५ रुपैयाँ तिर्नुपरेको बताए । “एक सातामै ५० रुपैयाँ बढ्नु सामान्य कुरा होइन, किन बढ्यो भन्ने स्पष्ट जवाफ कसैसँग छैन,” उनले गुनासो गरे । यो त प्रतिनिधी भनाई मत्र हो माघ सुरु भएसँगै बढेको मूल्य फागुन पहिलो सातासम्म पनि घट्न नसक्दा उपभोक्तामा निराशा बढेको छ । विशेषगरी दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धिले मध्यम तथा न्यून आय भएका परिवारको मासिक बजेट नै अस्तव्यस्त बनाएको छ ।
मुलुक प्रतिनिधिसभा चुनावी माहोलले तातेको बेला मूल्यवृद्धिले थप बहस निम्त्याएको छ । राजनीतिक दलका नेताहरू सुशासन र समृद्धिका प्रतिबद्धता व्यक्त गरिरहेका छन्, तर आम नागरिक भने दैनिक उपभोग्य वस्तुको व्यवस्थापनमै संघर्षरत देखिन्छन् । मूल्यवृद्धिको असर उपभोक्तामात्र होइन, खुद्रा व्यापारीहरूमा पनि परेको छ । भक्तपुरका एक व्यापारीका अनुसार उद्योग र होलसेलबाटै महँगोमा सामान आउँदा आफूहरूले पनि सोही मूल्यमा बेच्न बाध्य हुनुपरेको छ। “महँगोमा किनेर ल्याएको सामान घाटा खाएर बेच्न सकिँदैन, तर उपभोक्ताको गाली भने हामीले खानुपर्छ,” उनले भने ।
व्यापारीका अनुसार सनफ्लावर तेल प्रतिकार्टुन २ हजार ८ सय रुपैयाँसम्ममा उद्योगबाट झारिएको छ । ब्रान्ड अनुसार मूल्य फरक भए पनि होलसेलमै महँगो परेपछि खुद्रा मूल्य स्वतः बढ्ने उनीहरूको तर्क छ ।
मूल्यवृद्धि नियन्त्रण गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले उद्योगी र वितरकलाई निर्देशन दिएको छ । विभागले उद्योगीलाई अनुचित नाफा नलिन र बढाइएको मूल्य समायोजन गर्न छलफलमा बोलाएको थियो। कानुन विपरीत काम गर्ने केही फर्मलाई स्थलगत जरिबाना समेत गरिएको विभागले जनाएको छ । विभागका निर्देशक तथा सूचना अधिकारी नरहरि तिवारीका अनुसार पछिल्लो १५–१६ दिनमा उद्योग तहमा प्रतिलिटर ७ देखि १४ रुपैयाँसम्म मूल्य घटाइएको छ । “उद्योगीहरूले नयाँ बिलिङसहित मूल्य समायोजनको विवरण विभागमा पेस गरेका छन्,” उनले बताए ।
तर, उद्योग तहमा घटेको मूल्य उपभोक्तासम्म नपुग्नुको कारण बजारको तहगत संरचना रहेको उनको भनाइ छ । उद्योग–सप्लायर–खुद्रा विक्रेता गरी विभिन्न तहमा पुरानो स्टक बाँकी रहने भएकाले नयाँ मूल्य कार्यान्वयनमा समय लाग्ने उनले स्पष्ट पारे ।
मूल्यवृद्धिको प्रमुख कारणका रूपमा अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढ्नु देखाइएको छ । नेपालले अधिकांश कच्चा तेल अर्जेन्टिना, ब्राजिल र युक्रेनजस्ता देशबाट आयात गर्छ । विश्व बजारमा माग बढ्नु, उत्पादनमा कमी आउनु, ढुवानी खर्च बढ्नु तथा अमेरिकी डलरको भाउ बढ्नुजस्ता कारणले आयात लागत महँगो भएको उद्योगीहरूको दाबी छ । नेपाल वनस्पति घिउतेल उत्पादक संघ ले मूल्यवृद्धिमा उद्योगीको मनोमानी नभई अन्तर्राष्ट्रिय कारण जिम्मेवार रहेको जनाएको छ । संघका अध्यक्ष विकास दुगडका अनुसार अर्जेन्टिना, ब्राजिल र युक्रेनबाट कच्चापदार्थ महँगोमा आयात गर्नुपरेको, अमेरिकी डलरको भाउ बढेको र विश्व बजारमा माग उच्च रहेको कारण लागत बढेको हो ।
“हामीले भटमास र सूर्यमुखी तेलमा प्रतिलिटर १० देखि १५ रुपैयाँसम्म घटाइसकेका छौं,” दुगडले भने, “उद्योगबाट होलसेलरलाई घटेको मूल्यमा बिल काटिएको छ ।”
उनका अनुसार उद्योगले मूल्य समायोजन गरे पनि बजारसम्म पुग्न केही समय लाग्ने भएकाले तत्काल प्रभाव नदेखिएको हो ।
उद्योगीले मूल्य घटाएको दाबी गरेपनि नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधर भने बजारमा त्यसको कार्यान्वयन नभएको बताउँछन् । उनका अनुसार खुद्रा व्यापारीहरूले उद्योगले निर्धारण गरेको अधिकतम खुद्रा मूल्य (एमआरपी) अनुसार बिक्री गर्ने भएकाले नयाँ ‘प्रिन्टेड’ मूल्य नआएसम्म पुरानो स्टक सस्तोमा बेच्न कठिन हुन्छ ।
“हामीले महँगोमा किनेको सामान सस्तोमा बेच्दा घाटा हुन्छ,” उनले भने, “डिलरहरूले अझै पुरानै मूल्यमा सामान पठाइरहेका छन् ।”
तुलाधरका अनुसार जबसम्म नयाँ मूल्य अंकित भएका सामान बजारमा आउँदैनन्, तबसम्म उपभोक्ताले घटेको मूल्यको लाभ पाउन सक्दैनन्।
उद्योगी, विभाग र व्यापारीबीचको तर्क–वितर्कबीच उपभोक्ता भने दोहोरो मारमा परेका छन् । एकातिर आयस्तर स्थिर छ, अर्कातिर दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढिरहेको छ । विशेषगरी खानेतेलजस्तो अत्यावश्यक वस्तुको मूल्यवृद्धिले गृहिणीहरूलाई खर्च कटौतीका नयाँ उपाय खोज्न बाध्य बनाएको छ । कतिपय परिवारले तेलको प्रयोग घटाउने, सस्तो ब्रान्ड रोज्ने वा वैकल्पिक परिकार अपनाउने प्रयास गरिरहेका छन् । तर दीर्घकालीन समाधानका लागि बजार अनुगमन र पारदर्शिता आवश्यक रहेको उपभोक्ता अधिकारकर्मीहरूको धारणा छ ।
वाणिज्य विभागले उद्योगीले पठाएको नयाँ मूल्यसूची अध्ययन गरिरहेको र बजारमा त्यसको कार्यान्वयन भए÷नभएकोबारे अनुगमन तीव्र पार्ने जनाएको छ । यदि खुद्रा तहमा कृत्रिम अभाव सिर्जना गर्ने वा अनुचित नाफा लिने कार्य भेटिए कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ ।
विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य उतारचढाव सामान्य भए पनि आन्तरिक बजार व्यवस्थापन सुदृढ भए उपभोक्तालाई अनावश्यक मार पर्नबाट जोगाउन सकिन्छ ।
खानेतेलको मूल्यवृद्धि अहिले नेपाली बजारको प्रमुख चासोको विषय बनेको छ । उद्योगले अन्तर्राष्ट्रिय कारण देखाउँदै मूल्य बढाएको र पछि केही कटौती गरेको दाबी गरेपनि बजारमा त्यसको प्रभाव स्पष्ट देखिएको छैन । विभागले अनुगमन बढाउने जनाएको छ भने खुद्रा व्यापारीहरूले पुरानो स्टकका कारण मूल्य घटाउन नसकिएको बताएका छन् ।
उपभोक्तासम्म वास्तविक राहत पुग्छ कि पुग्दैन भन्ने कुरा प्रभावकारी अनुगमन, पारदर्शी मूल्य निर्धारण र आपूर्ति व्यवस्थापनमा निर्भर रहने देखिन्छ । अहिलेको अवस्थामा भने महँगीको प्रत्यक्ष भार सर्वसाधारणकै काँधमा परेको छ ।


