नेकपा एमालेले आगामी निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। बिहीबार काठमाडौंमा आयोजित विशेष समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरूले घोषणापत्र सार्वजनिक गर्दै मुलुकको विकास, सुशासन, रोजगारी र सामाजिक न्यायलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। एमालेले ‘समृद्ध नेपाल, सुखी नेपालीः राष्ट्रिय आकाङ्क्षा हाम्रो गन्तव्य’ भन्ने नारालाई घोषणापत्रको मूल आधार बनाएको छ र त्यस लक्ष्य प्राप्तिका लागि पार्टीलाई विजयी गराउन मतदातालाई आग्रह गरेको छ।
घोषणापत्रमा तत्काल गर्ने ११ काम, पाँच आधारभूत काम र २५ सङ्कल्प समेटिएको छ। पार्टीले विगतमा सरकारमा रहँदा सुरु गरेका तर पूरा गर्न नसकेका विकास परियोजना, सुशासनका पहल, रोजगारी सिर्जना र सामाजिक न्यायका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। घोषणापत्रमा पूर्वाधार विकास, ऊर्जा, कृषि, उद्योग, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा जस्ता क्षेत्रलाई मुख्य प्राथमिकतामा राखिएको छ।
अध्यक्ष ओलीले घोषणापत्र सार्वजनिक कार्यक्रममा मुलुकलाई भत्काउने र जलाउनेभन्दा बनाउने र सुधार्ने संकल्पका साथ एमाले अघि बढ्ने बताए। उनले विगतका अनुभव र अभ्यासका आधारमा एमालेले मुलुकको मुहार फेर्ने कामको अगुवाइ गर्ने दाबी गर्दै राजनीतिक स्थिरता र विकासको निरन्तरताका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको उल्लेख गरे। ओलीले स्वाधीनता र राष्ट्रियताको पक्षमा एमाले सधैँ दृढ रहँदै आएको दाबी गर्दै पार्टी कुनै लोकप्रितावाद वा क्षणिक लोकप्रियता खोज्ने ‘स्टन्ट’मा केन्द्रित नहुने स्पष्ट पारे।
घोषणापत्रमा सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा सुधार र प्रशासनिक दक्षता बढाउने योजना समावेश गरिएको छ। आर्थिक विकासका लागि उत्पादन वृद्धि, औद्योगिकीकरण, निजी क्षेत्रसँग सहकार्य र वैदेशिक लगानी आकर्षित गर्ने नीति अघि सारिएको छ। रोजगारी सिर्जनाका लागि सीपमूलक तालिम, उद्यमशीलता प्रवर्द्धन र युवालाई स्वदेशमै अवसर उपलब्ध गराउने कार्यक्रम पनि घोषणापत्रमा उल्लेख छ।
सामाजिक न्याय र समावेशितालाई प्राथमिकतामा राख्दै महिला, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति र पछाडि परेका समुदायका लागि लक्षित कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा सुनिश्चित गर्न विद्यालय तथा स्वास्थ्य संस्थाको सुधार, डिजिटल प्रविधिको प्रयोग र मानव संसाधन विकासमा जोड दिइएको छ।
घोषणापत्रले संघीयता सुदृढीकरण, स्थानीय तह सशक्तीकरण र सेवा प्रवाहमा नागरिक सहभागिता बढाउने नीति पनि अघि सारेको छ। साथै ऊर्जा, सडक, सिँचाइ र खानेपानीलगायतका पूर्वाधार परियोजनालाई तीव्रता दिने, पर्यटन र कृषि क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्ने रणनीति प्रस्तुत गरिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार एमालेको घोषणापत्रले विकास र स्थिरतालाई मुख्य एजेन्डा बनाउँदै परम्परागत मतदाता आधारलाई पुनः सुदृढ गर्ने प्रयास गरेको देखिन्छ। तर घोषणापत्र कार्यान्वयनका लागि राजनीतिक स्थायित्व, स्रोत व्यवस्थापन र संस्थागत सुधार महत्वपूर्ण हुने विश्लेषकहरूको भनाइ छ। आगामी निर्वाचनपछि एमालेले आफ्ना वाचा र योजनालाई व्यवहारमा उतार्न कति सफल हुन्छ भन्ने विषय नै यसको वास्तविक मूल्याङ्कनको आधार बन्नेछ।
https://drive.google.com/file/d/19pbBFvxFA_cwQ-B8pwoIVv-txBhFVHwf/view


