Banijya News

मध्यपूर्वमा द्वन्द्वको तरंग : विश्व बजारमा पर्नेछ तेल देखि शेयरसम्म असर

1
1.1K Shares

अमेरिका र इजरायलले शनिबार इरानको नेतृत्वलाई लक्षित गरी गरेको संयुक्त आक्रमणले मध्यपूर्वलाई पुनः गम्भीर द्वन्द्वतर्फ धकेलेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले उक्त कदमले क्षेत्रीय सुरक्षा खतरा अन्त्य गर्ने र इरानभित्र राजनीतिक परिवर्तनको ढोका खोल्ने दाबी गरेका छन् । तर तेहरानले तत्कालै इजरायलतर्फ मिसाइल प्रहार गरेर जवाफ फर्काएपछि तनाव थप चर्किएको छ । यस घटनाक्रमले नजिकैका तेल उत्पादक खाडी राष्ट्रहरूमा त्रास बढाएको मात्र होइन, विश्व अर्थतन्त्रमा समेत दूरगामी प्रभाव पार्न सक्ने संकेत दिएको छ ।

मध्यपूर्वमा कुनैपनि किसिमको सैन्य तनाव उत्पन्न हुँदा विश्व बजारले सबैभन्दा पहिले ध्यान दिने पक्ष कच्चा तेलको आपूर्ति र मूल्य हो । इरान विश्वका प्रमुख तेल उत्पादक राष्ट्रहरूमध्ये एक हो । विशेषगरी विश्व आपूर्तिको करिब २० प्रतिशत तेल पार हुने क्षेत्रमा इरानको सामुद्रिक प्रभाव क्षेत्र नजिकै पर्छ । यदि द्वन्द्वका कारण यो मार्ग अवरुद्ध वा असुरक्षित बन्यो भने, विश्व बजारमा तेलको आपूर्ति खुम्चिन सक्छ र मूल्य आकासिन सक्छ ।

शुक्रबार तेलको कच्च प्रडक्ट प्रति ब्यारेल करिब ७३ अमेरिकी डलरमा कारोबार भएको थियो । यो मूल्य यस वर्षको सुरुवातदेखि नै करिब २० प्रतिशतले वृद्धि भइसकेको अवस्था हो । विश्लेषकहरूका अनुसार यदि द्वन्द्व सीमित समयमै नियन्त्रणमा आयो भने पनि मूल्य ८० डलरसम्म पुग्न सक्छ । तर आपूर्ति प्रत्यक्ष प्रभावित हुने गरी लामो समयसम्म अस्थिरता कायम रह्यो भने मूल्य १०० डलरसम्म पुग्ने सम्भावना रहेको छ । यस्तो अवस्थाले विश्वव्यापी मुद्रास्फीतिमा ०.६ देखि ०.७ प्रतिशत विन्दुसम्म थप्न सक्ने आँकलन गरिएको छ, जसले केन्द्रीय बैंकहरूलाई पुनः कडा मौद्रिक नीति अपनाउन बाध्य पार्न सक्छ ।

आक्रमणपश्चात केही प्रमुख तेल कम्पनी र अन्तर्राष्ट्रिय व्यापारिक घरानाहरूले होर्मुज हुँदै हुने कच्चा तेल तथा इन्धन ढुवानी अस्थायी रूपमा स्थगित गरेका समाचार सार्वजनिक भएका छन् । ढुवानीमा आएको यस्तो अवरोधले आपूर्ति सञ्जालमा चाप बढाउनेछ । ऊर्जा बजारमा अनिश्चितता बढेसँगै बीमा शुल्क र ढुवानी लागत पनि बढ्न सक्छ, जसको अन्तिम असर उपभोक्तासम्म पुग्नेछ ।
ऊर्जा बजार मात्र होइन, वित्तीय बजारसमेत यस द्वन्द्वको प्रत्यक्ष प्रभावमा पर्ने देखिएको छ । यस वर्ष अमेरिकी व्यापार नीतिमा आएको परिवर्तन र प्रविधि कम्पनीका सेयरहरूको तीव्र बिक्रीका कारण विश्व बजार पहिले नै अस्थिर रहँदै आएको थियो । यस्तो अवस्थामा नयाँ भू–राजनीतिक जोखिम थपिँदा लगानीकर्ताको मनोविज्ञान झनै कमजोर हुनसक्छ । जोखिम मापन गर्ने भिआइएक्स सूचक यस वर्ष एक तिहाइले बढेको छ, जसले बजारमा डर र अनिश्चितता बढेको संकेत गर्दछ । त्यस्तै अमेरिकी सरकारी ऋणपत्रको उतारचढाव पनि उल्लेखनीय रूपमा बढेको छ ।

मुद्रा बजारमा पनि यसको प्रभाव देखिन सक्ने सम्भावना छ । गत वर्ष इरान–इजरायलबीच सीमित अवधिको झडप हुँदा अमेरिकी डलर सूचकांक करिब १ प्रतिशतले घटेको थियो । तर त्यो गिरावट क्षणिक रह्यो र केही दिनमै पुरानै स्तरमा फर्किएको थियो । विश्लेषकहरू भन्छन्—द्वन्द्व कति लामो र कति गहिरो बन्छ भन्ने कुराले यस पटकको प्रभाव निर्धारण गर्नेछ । यदि द्वन्द्व चाँडै समाधान भएन र तेल आपूर्ति प्रभावित भयो भने, ऊर्जा निर्यातकर्ता भएकाले अमेरिकी अर्थतन्त्रलाई सापेक्ष फाइदा पुग्न सक्छ र अमेरिकी डलर अन्य मुद्राको तुलनामा बलियो बन्न सक्छ ।

विशेषगरी जापानी येन र स्विस फ्र्याङ्कलाई संकटका बेला सुरक्षित मुद्रा मानिन्छ । स्विस फ्र्याङ्क यस वर्ष अमेरिकी डलरको तुलनामा ३ प्रतिशतले बलियो भइसकेको छ । संकट बढेमा यसको माग अझ बढ्न सक्छ, जसले स्विस केन्द्रीय बैंकमाथि विनिमय दर व्यवस्थापनको दबाब सिर्जना गर्नेछ । इजरायली मुद्रामा पनि उतारचढाव आउने निश्चित छ । विगतमा इजरायल र इरानबीचको तनाव बढ्दा इजरायली मुद्रा केही प्रतिशतले कमजोर बनेको थियो, तर अवस्था सामान्य बन्दै जाँदा पुनः स्थिर भएको देखिएको छ ।

लगानीकर्ताहरू अनिश्चितताको समयमा सुरक्षित सम्पत्तितर्फ आकर्षित हुने परम्परा छ । यस क्रममा सुनको मूल्यले नयाँ उचाइ लिएको छ । सन् २०२६ को सुरुवातदेखि नै सुनको मूल्य करिब २२ प्रतिशतले बढिसकेको छ र नयाँ रेकर्डतर्फ उन्मुख छ । चाँदीमा पनि लगानी बढ्दो छ । यस्ता धातुहरूलाई मुद्रास्फीति र भू–राजनीतिक जोखिमविरुद्ध सुरक्षाको साधनका रूपमा हेरिन्छ ।

अमेरिकी ट्रेजरी बन्डको माग पनि बढ्न सक्ने अनुमान गरिएको छ । विगत केही सातादेखि ट्रेजरी प्रतिफल घट्दो क्रममा थियो, जसले लगानीकर्ताहरू सुरक्षित विकल्प रोज्दै गएको संकेत गर्दछ । तर डिजिटल सम्पत्ति भने यस पटक अपेक्षाकृत कमजोर देखिएको छ । विशेषगरी विटकोइनको मूल्य शनिबार २ प्रतिशतले घटेको छ र पछिल्ला दुई महिनामा यसले आफ्नो मूल्यको एक चौथाइभन्दा बढी हिस्सा गुमाइसकेको छ । बिटक्वाइनलाई परम्परागत सुरक्षित लगानीको रूपमा स्वीकार नगरेको संकेत गर्छ । मध्यपूर्वका सेयर बजारहरूमा प्रत्यक्ष असर देखिन सक्नेछ । साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्सका बजारहरू तेल मूल्यसँग नजिकबाट सम्बन्धित छन् । तेल मूल्य बढ्दा प्रारम्भिक रूपमा ऊर्जा कम्पनीहरूलाई फाइदा पुग्न सक्छ, तर दीर्घकालीन अस्थिरताले समग्र अर्थतन्त्रलाई असर पार्न सक्छ । साउदी अरबको प्रमुख सूचकांक पछिल्लो पाँच दिनमा १.३ प्रतिशतले घटेको थियो, जुन लगातार दोस्रो साताको गिरावट हो । दुबईको मुख्य बजार पनि पछिल्ला दुई सातामा ओरालो लागेको छ । यदि द्वन्द्व लम्बियो भने यी बजारहरू ३ देखि ५ प्रतिशतसम्म घट्न सक्ने अनुमान गरिएको छ ।

एयरलाइन्स उद्योगमा समेत प्रभाव देखिन थालेको छ । विश्वभरका धेरै एयरलाइन्सहरूले मध्यपूर्व हुँदै हुने उडानहरू रद्द गरेका छन् । यदि थप हवाई क्षेत्र बन्द भए वा बीमा लागत बढ्यो भने उनीहरूको सञ्चालन खर्च बढ्नेछ र सेयर मूल्य दबाबमा पर्न सक्छ । पर्यटन र व्यापारिक यात्रामा समेत यसको नकारात्मक असर पर्नेछ । विपरीत दिशामा, युरोपेली हतियार उत्पादक कम्पनीहरूको सेयरमा भने माग बढ्न सक्ने अनुमान गरिएको छ । यसवर्ष यस्ता कम्पनीहरूको सेयर करिब १० प्रतिशतले बढिसकेको छ । रक्षा खर्च वृद्धि हुने अपेक्षाले लगानीकर्ताहरूलाई आकर्षित गरेको छ । यदि क्षेत्रीय द्वन्द्व थप चर्कियो भने रक्षा उद्योगलाई थप लाभ पुग्न सक्छ ।

समग्रमा हेर्दा, अमेरिका–इजरायलको आक्रमण र त्यसपछिको इरानी जवाफले मध्यपूर्वमा नयाँ अस्थिरताको अध्याय सुरु गरेको संकेत गर्दछ । तेल आपूर्ति, मुद्रास्फीति, मुद्रा विनिमय दर, सेयर बजार र सुरक्षित लगानीका साधनहरू सबै यसबाट प्रभावित हुन सक्छन् । यद्यपि विगतका घटनाहरूले देखाएझैँ केही झडपहरू क्षणिक रहन सक्छन्, तर यस पटकको परिस्थितिमा जोखिम प्रिमियम लामो समयसम्म कायम रहने सम्भावना विश्लेषकहरूले औँल्याएका छन् । अब विश्व बजारको ध्यान दुई प्रमुख प्रश्नमा केन्द्रित हुनेछ—द्वन्द्व कति गहिरो र कति लामो हुन्छ ? र तेल आपूर्ति मार्गहरू कति सुरक्षित रहन्छन् ? यी प्रश्नको उत्तरले मात्र आगामी दिनमा विश्व अर्थतन्त्रको दिशा निर्धारण गर्नेछ ।

1

Scroll to Top