Banijya News

न्युजिल्यान्डमा सवित्रा भण्डारी ‘साम्बा’को घुँडाको सफल शल्यक्रिया

1
1.1K Shares

लामो प्रतिक्षापछि नेपाली महिला फुटबल टोलीकी स्टार खेलाडी सवित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया न्युजिल्यान्डमा सफलतापूर्वक सम्पन्न भएको छ। बुधबार बिहान न्युजिल्यान्डको अकल्यान्डस्थित अस्पतालमा डाक्टर साइमन र उनको चिकित्सक टोलीले शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिइएको छ।

साम्बाले सामाजिक सञ्जालमार्फत शल्यक्रिया सफल भएको जानकारी दिँदै हाल खाडी क्षेत्रमा अवस्था सामान्य नरहेकाले कतार र एस्पेटार पुग्न कठिनाइ भएको बताए। त्यसैले चिकित्सकहरूको सुझावअनुसार न्युजिल्यान्डमै उपलब्ध विशेषज्ञबाट शल्यक्रिया गरिएको उनले उल्लेख गरेकी छन्।

शल्यक्रियापछि अब चिकित्सककै निगरानीमा पुनर्स्थापना (रिह्याब) प्रक्रिया सुरु हुने जनाइएको छ। उनका अनुसार बिहीबारदेखि पुनर्स्थापनाको प्रारम्भिक चरण सुरु हुनेछ। स्वास्थ्य अवस्था सामान्य हुनेबित्तिकै कतारस्थित एस्पेटारमा थप रिह्याब कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको उनले बताएकी छन्।

यस कठिन समयमा साथ र सहयोग गर्ने सबैप्रति साम्बाले आभार व्यक्त गरेकी छन्। विशेषगरी वेलिंगटन र अकल्यान्डमा रहेका नेपाली समुदायले दिएको साथ र सहयोगका लागि उनले धन्यवाद व्यक्त गरेकी छन्।

त्यस्तै उनको क्लब वेलिंगटन फिनिक्स र व्यवस्थापन टोलीले शल्यक्रियाको समय मिलाउन दिनरात खटेर सहयोग गरेको पनि उनले उल्लेख गरेकी छन्। समर्थकहरूको माया र हौसलाबाट आफू पुनरागमनको यात्रामा अघि बढ्ने दृढता व्यक्त गरेकी छन्।

1

Scroll to Top