नेपाल राष्ट्र बैंक ले जलेका, च्यातिएका तथा विभिन्न कारणले नष्ट भएका नोट सटही प्रक्रियामा कडाइ गरेको छ। अब ठूलो परिमाणमा यस्ता नोट साट्न आउने सेवाग्राहीले स्थानीय तह वा प्रहरीको सिफारिस अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था लागू गरिएको छ।
राष्ट्र बैंकका प्रवक्ता डा. संजय प्रसाद मिश्रका अनुसार क्षतिग्रस्त नोट सटही गर्दा घटनाको स्पष्ट विवरण खुलाउनुपर्नेछ। “नोट कसरी जलेको हो वा नष्ट भएको हो भन्ने यथार्थ विवरणसहित स्थानीय तह वा प्रहरीको सिफारिस ल्याउनुपर्ने हुन्छ,” उनले बताए। यस व्यवस्थाले नोट सटही प्रक्रियामा पारदर्शिता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
राष्ट्र बैंकले विशेषगरी जानाजानी नोट च्यात्ने र दुरुपयोग गर्ने प्रवृत्ति नियन्त्रण गर्न यस्तो निर्णय लिएको जनाएको छ। प्रवक्ता मिश्रका अनुसार केही व्यक्तिहरूले सद्दे नोट च्यातेर दुईवटा बनाएर सटही गर्न खोज्ने गरेको पाइएको छ। “त्यस्ता गतिविधि रोक्न र एउटै नोटको दोहोरो दाबी हुन नदिन नियम कडाइ गरिएको हो,” उनले स्पष्ट पारे।
नयाँ व्यवस्थाअनुसार नोटको अवस्था अनुसार सटही हुने रकम निर्धारण गरिनेछ। यदि नोटको ५० प्रतिशतभन्दा बढी भाग सुरक्षित रहेको छ र त्यसमा अंक, सिरियल नम्बर तथा अन्य विवरण स्पष्ट देखिन्छ भने पूर्ण मूल्य बराबरको रकम सटही दिइनेछ। तर नोटको आधाभन्दा कम भाग मात्र बाँकी रहेको वा पहिचान गर्न नसकिने गरी जलेको अवस्थामा भने सटही सुविधा नपाइने प्रावधान कायम गरिएको छ।
राष्ट्र बैंकले यस्तो व्यवस्थाले सटही प्रक्रियामा अनुशासन कायम गर्नुका साथै सम्भावित वित्तीय अनियमितता रोक्न मद्दत पुग्ने जनाएको छ। साथै सेवाग्राहीलाई पनि नोट सुरक्षित रूपमा प्रयोग गर्न र क्षति हुन नदिन सचेत रहन आग्रह गरिएको छ।
हालसम्म साना परिमाणका क्षतिग्रस्त नोट सटहीमा खासै समस्या नआए पनि ठूलो रकममा अनियमितता देखिन थालेपछि निगरानी कडा बनाइएको राष्ट्र बैंकले जनाएको छ। नयाँ नियम लागू भएसँगै सटही प्रक्रियामा आवश्यक कागजातको महत्त्व बढेको छ।


